महेन्द्रनगर । टिभिटुडेमा कार्यरत सुदूरपश्चिमका पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । कोरोना पोजेटिभ देखिएका उनको बिहिबार निधन भएको हो ।
बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । एक महिनादेखि उपचाररत विश्वकर्माको निधन भएको उनका पारिवारीक स्रोतले जनाएको छ । आर्थिक अभावले उनको ज्यान गएको उनका भाइ ललिले बताए । उनले भने,‘गए राति ११ बजे अस्पताल भर्ना गरिएको थियो, २ घण्टा स्वास्थ्य जाँच गराएपछि अस्पतालले ४ हजार ५ सयको बिल निकाल्यो,’ हामीसँग ३ हजार ५ सय मात्रै थियो, १ हजार रुपैयाँ नहुँदा हस्पिटलले बिरामी लग्नु भन्यो, बाँकी रुपैयाँ भोलि दिन्छौ भन्दा पनि मानेन।’
सिभिल हस्पिटलले उपचारमा लापरबाही गरेको उनी बताउँछन् । सिभिल हस्पिटलले रिफर गरेपछि उनलाई पाटन हस्पिटल लगिएको थियो । बिरामी हुँदा समेत उनी आवद्ध मिडियाले सहयोग नगरेको गुनासो ललितको छ । अछामको रामारोशनका विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।