महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै आएका ५० वर्षीय गणेश दमाइलाई उपचारमा सहयोग समेत नगरेको भन्दै पीडितका परिवारले गुनासो गरेका हुन् ।
बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे पीडितको उपचारमा पहल गरिरहेकी पत्रकार ऐश्वर्या कुवरले घाइते दमाइले उपचार समेत नपाउँदा छटपटाएका जनाइन् । घाइतेका छोरा सुनिलका अनुसार गत पुष २९ गते दिउँसो साढे १२ बजे सुखासाल सडकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ८ च ३०८४ नम्बरको कृर्षी विकास बैङ्क महेन्द्रनगरका कर्मचारी चढेको गाडीले सडकमा पैदल यात्रा गरिरहेका दमाइलाई पछाडिबाट कुल्चिदियो ।
पछाडिबाट ठक्कर दिँदै गाडी हुइँकिएर गएपछि हात र खुट्टामा चोट लागेका दमाइलाई अस्पताल र्पुयाउन समेत धौधौ परेको उनीहरूको गुनासो छ । कृर्षी विकास बैंकको गाडी नम्बर टिप्दै घाइतेकी छोरी लक्ष्मी सहितले प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालयको भ्यान घटना स्थलमा पुगेपनी मुचुल्का समेत नउठाइ फिर्ता गएको गुनासो गरिएको छ । प्रहरीले घटनास्थलमा घाइते दमाई को उपचार र कुल्चिएर हिन्ने बैङ्कका कर्मचारी माथि कुनै एक्सन लिन मानेन् ।
दमाईको उपचारमा समस्या हुने देखिएपछि पत्रकार कुवरले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग सङ्कलन गरी घाइतेको उपचारमा केही सहजता गरिएको जनाइन् । दमाई को महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनको हातको शल्यक्रिया गरिएको जनाइएको छ ।
तर बैङ्कका कर्मचारीले घाइते दमाईको उपचार समेत गर्न नमान्दा न्याय हराएको महसुस हुनथालेको सुनिल बताउँछन् । उनले भने,–‘ज्यान जोगाउन सकिएको छ, क्षतिपूर्ति राहत केही पनि मागेका होइनौ, उपचारमा सहजता गरिदिए भौँतारिनुपर्ने अवस्था आउने थिएन ।’
कृर्षी विकास बैङ्कका व्यवशायीक अधिकृत डिकरदेव पाण्डे भने आफूहरू उक्त सडक भएर गएका तर कसैलाई क्षति नगरेको दाबी गर्छन् । उनले भने,–‘कार्यालयको कामकाजले गएका थियौ, कुनै दुर्घटना भने घटेन ।’
तर प्रहरीले घटनाको जाहेरी समेत दर्ता नगरेको गुनासो गरिएको छ । घाइतेका छोरा सुनिलले प्रहरीमा पटक–पटक जाहेर गरेपनी निवेदन दर्ता नै नभएको गुनासो गरे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीले उक्त दुर्घटनाको विषयमा थप बुझ्ने प्रयास भइरहेको जनाएका छन् ।