कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी‚ अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ। यस्तै‚ मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ।
सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ। यीबाहेकका अन्य सेवाहरु तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ। त्यस्तै न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।
स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।