धनगढी-अत्तरीया ६ लेन सडकमा पुल निर्माणका लागि १३ करोड रुपैयाँको ठेक्का लागेको छ । आयोजनाले एमरएस रायमाझी कन्स्ट्रक्शनलाई आयोजना अन्तर्गतका पुल निर्माणको लागि १३ करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको ठेक्का दिएको सडक विभागले जनाएको छ ।
सडक निर्माणको काम यस अघिनै करिव सम्पन्न भइसकेपनि पुल निर्माण नहुँदा आयोजना सम्पन्न हुन सकेको थिएन । २०७४ जेठ देखि निर्माण सुरु गरिएको १५ किलोमिटर सडकको काम यसै वर्ष मात्रै अन्तिम चरणमा पुगेको हो ।नेपाल भारत सीमा नजिक रहेको मोहनापुल देखि महेन्द्रराजमार्गसँग जोडिएको अत्तरिया बजार सम्मको करिब १५ किलोमिटर सडकलाई ६ लेनमा स्तरोन्नती गरिएको छ ।
सुदूरपश्चिम प्रदेशकै नमुना उक्त सडक खण्डमा पुलको ठेक्का लगाउन ढिलाई भएका कारण सडकको स्तरोन्नती सकिएपछि मात्रै पुलको ठेक्का लागेको छ । एसियाली सडक मापदण्ड अनुसारको उक्त सडक स्तरोन्नतीमा करिव दुई अर्ब रुपैयाँ खर्च हुने भएको छ । सडक स्तरोन्नतीका लागि मात्रै करिव एक अर्ब ७० करोड रुपैयाँ खर्च भएकोमा पुलको लागि अहिले १३ करोड रुपैयाँको अर्को ठेक्का लगाइएको छ । पुलको निर्माण पनि समयमै सम्पन्न नभएमा आयोजनाको लागत करिव दुई अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।