उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र परीक्षण गरेको छ। स्थानीय समयअनुसार आज बिहान उत्तर कोरियाले पूर्वी सामुद्रिक तटमा क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाले यसै महिनामा गरेको यो सातौँ परीक्षण हो । दक्षिण कोरिया, जापान तथा अमेरिकाले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन्।
अमेरिकाले उत्तर कोरियाको निरन्तरको ब्यालेस्टिक तथा परमाणु हतियार परीक्षणपछि प्रतिबन्ध कडा बनाउँदै लगेको छ। तर पूर्वी एसियाली देशहरुले उत्तर कोरियामाथिको प्रतिबन्धको विरोध गर्दै आएका छन्। उत्तर कोरियाले पनि प्रतिबन्धको विरोधमा परमाणु हतियार परीक्षण थप बढाउँदै गएको छ। नेता किम जोङ उनले आफ्नो देशको सुरक्षा मजबुद बनाउन परमाणु हतियार परीक्षण बढाउने दाबी गर्दै आएका छन्। दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आज बिहान उत्तर कोरियाले परीक्षण गरेको हतियार ब्यालेस्टिक मिसाइल आईआरबीएम रहेको बताएको छ।
यो सन् २०१७ को नोभेम्बर यता परीक्षण गरिएको सबैभन्दा ठूलो क्षेप्यास्त्र हो। जापानी र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्र २ हजार किलोमिटर उचाईमा पुग्न सक्ने र ३० मिनेटसम्म ८ सय किलोमिटरको दूरीमा उड्न सक्ने क्षमताको छ। एजेन्सी