बझाङ–बझाङको दुर्गाथली गाउँपालिकामा भरपर्दो इन्टरनेट सुविधा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले ३ सेवाप्रदायक कम्पनीका इन्टरनेट जडान गरे पनि राम्रोसँग काम नगर्दा कार्यालयको दैनिक कार्य सम्पादनमा समस्या भइरहेको हो । गाउँपालिकामा इन्टरनेट नहुँदा दैनिक गर्नुपर्ने काम प्रभावित हुन थालेपछि छुट्टाछुटै कम्पनीका इन्टरनेट जडान गरिए पनि समस्या सामाधान हुन नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले बताए ।
कार्यालयमा हाल मर्कन्टाइल कम्युनिकेसन, एभरेष्ट लिंक र नेपाल टेलिकमको इन्टरनेट जडान गरे पनि एउटाबाट पनि भरपर्दो सेवा पाउन नसकिएको उनले जानकारी दिए । ‘अहिलेसम्म ३ कम्पनीका इन्टरनेट जोडिसक्यौँ,’ उनले भने, ‘जोडेको केही दिन राम्रो काम गर्छ, त्यसपछि काम गर्न छाड्छ । कुनै पनि दिगो हुन सकेका छैनन् । सेवाप्रदायकले कहिले टावरमा समस्या आयो भन्छन् कहिले के ।’ इन्टरनेट नहुँदा विभिन्न कार्यालयबाट आएका मेल हेर्नसमेत समस्या भएको उनको भनाइ छ ।
पालिकामा नेपाल टेलिकमको टावर भए पनि त्यो सोलार सिस्टमबाट चल्ने हुँदा नियमित काम नगर्ने उनले बताए । यो वर्ष गाउँपालिकाबाटै टेलिकमको टावरसम्म विद्युत् विस्तार गर्न १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले पालिका कार्यालयलगायत वडा र विद्यालयमा पनि इन्टरनेट विस्तार गरे पनि कुनै ठाउँमा राम्रोसँग काम नगरेको बताए । इन्टरनेट समस्या समाधानका लागि मष्टामाडौंमा रहेको टेलिकम टावरमा विद्युत् पु¥याउनुपर्ने हुँदा यो वर्ष पालिकाबाटै बजेट विनियोजन गरे पनि सो बजेट कार्यान्वयमा समस्या भएको उनको भनाइ छ ।