सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर थोरै घटेको देखिएको छ । अघिल्लो पाँच दिनको तुलनामा प्रदेशमा सङ्क्रमण दर घटेको देखिएको हो । यद्यपि, परीक्षण गराउने सङ्ख्या पनि घट्दै गएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार माघ १० गते पोजेटिभिटी दर ३५.५५ प्रतिशत रहेको थियो । त्यो दिन कुल एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, माघ ११ गते परीक्षण सङ्ख्या र पोजेटिभ हुने सङ्ख्या बढी थियो ।
तर, त्यो दिन पोजेटिभिटी दर भने ३३.३८ प्रतिशत रहेको छ । ११ गते जम्मा एक हजार ९७३ जनाको परीक्षण गरिएको थियो । जसमध्ये तेस्रो लहरमा हालसम्मकै सबैभन्दा बढी ६५२ जनामा संक्रमण पुष्टि भएको थियो । माघ १२ गते पनि ३३.१८ प्रतिशत पोजेटिभिटी दर रहेको थियो । सो दिन एक हजार ८५० जनाको परीक्षण गर्दा ६१४ जनामा संक्रमण पुष्टि भएको थियो । यी तीन दिनसम्म सङ्क्रमण दर महामारीको रुपभन्दा बढी रहेको थियो । ३० प्रतिशतसम्म पोजेटिभिटी दर पुगेमा त्यसलाई महामारीको रुपमा लिने गरिएको छ ।
माघ १३ गते भने परीक्षण संख्या धेरै रहे पनि पोजेटिभिटी दर भने कम रहेको छ । त्यो दिन एक हजार ९१३ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ५५८ जनामा संक्रमण पुष्टि भइ पोजेटिभिटी दर २९.१६ प्रतिशत रहेको देखिन्छ । यस्तै, माघ १४ गते संक्रमित हुनेको दर २८।७ प्रतिशतमा झरेको छ । यो दिन जम्मा एक हजार ६९३ जनाको परीक्षण गरिएको थियो । जसमध्ये ४८६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, माघ १५ गते पोजेटिभिटी दर २३ प्रतिशतमा झरेको छ । कुल एक हजार १०६९ जनाको परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी, निर्देशनालयको विगत छ दिनको तथ्याङ्कलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर विस्तारै घट्दै गएको छ । तर, अहिले परीक्षण पनि घटेको छ ।
सेतीमा परीक्षण घट्यो, संक्रमण दर उस्तै
यसैबीच, धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण घटेको छ । परीक्षण घटेपनि कोरोना संक्रमण दर अझै उस्तै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण दर अझै बढी नै रहेको उल्लेख गर्दै अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमण दर नघटेको बताए । उनले अझै पनि संक्रमण दर ६० देखि ६५ प्रतिशत रहेको उल्लेख गरे । ‘अहिले परीक्षण हुने संख्या मात्रै घटेको हो’, सूचना अधिकारी श्रेष्ठले भने । ‘पोजेटिभिटी दर अझै कम छैन ।’ सेती प्रादेशिक अस्पतालमा शुल्क लिने व्यवस्थाका कारण कोरोना परीक्षण संख्या बताइएको छ । सरकारले कुनै लक्षण नदेखिएका व्यक्तिको शुल्क लिएर परीक्षण गर्न निर्देशन दिएको थियो । सो व्यवस्था लागू गरेपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गराउनेको संख्या घटेको सूचना अधिकारी श्रेष्ठले भने ।
‘लक्षण देखिएका व्यक्तिको परीक्षण शुल्क लाग्दैन । तर, लक्षण नदेखिएका शंकास्पद् व्यक्ति स्वेच्छाले परीक्षण गराउन आएमा आठ सय रुपैयाँ शुल्क लाग्ने गरेको छ’, उनले भने । ‘सरकारले निर्देशन दिएपछि हामीले शुल्क लिनै प¥यो । शुल्क लिएपछि परीक्षण घटेको छ ।’ धनगढी उपमहानगरपालिकाले पनि स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाउँदै आएको छ । तर, केही दिनदेखि धनगढी उपमहानगरपालिकामा स्वाब संकलनको कार्य स्थगित रहेको छ । स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वाब संकलनको कार्य स्थगित गरिएको हो । धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा स्वाब संकलन गर्ने गरेको छ । पछिल्लो समय धनगढी उपमहानगरपालिकाबाट संकलन स्वाब नआएकाले पनि परीक्षण घटेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।