दिपकराज भट्ट्
डडेल्धुरा — सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिएको हा े।
८ वर्षीय आफ्नो कार्यकालमा गरिएका कामबारे जानकारी दिँदै उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र पर्यटन कार्यालय नेपालगन्जको संयुक्त रकमले गुरुयोजना निर्माण गरिएको बताए । उनले भने,उग्रतारा क्षेत्र विकास समितीले म अध्यक्ष भएपछि भौतिक निमार्णमा जोड दिएको छ ु । पहिले गुरुहरु बस्ने घर, प्रवचन भवन थिएनन ्।’
गुरुयोजना अनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याश्रम र गौशाला सञ्चालनमा रहेको उनले बताए । पर्यटन कार्यालय नेपालगन्जको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरबार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीको भनाइ छ ।

१ सय ८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब तीन सय जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ। ‘३० लाख लगामीमा मन्दिर तल रहेको पानिको मुहान ऐतिहासिक नौला जाने बाटो र पिकनिकका लागी जस्ताले छाएका तीन वटा घर निर्माण गरिएका छन,’ उनले भने, ‘यसले पानी भर्न, स्नान गर्न जाने भक्तजनसँगै पिकनिक गर्न आउने आस्थावानहरुलाई निकै सहयोग पुगेको छ ।’
यससँगै आफ्नो कार्यकालमा ६ लाखको अक्षय कोष स्थापना गरिएको अध्यक्ष साँकीले जानकारी दिए। कृषि विकास बैंकमा खाता खोली श्रद्धालुभक्तजन आस्थावानहरुको आर्थिक सहयोगमा अक्षय कोष स्थापना भएको बताउँदै उनले अहिले एक वर्षमा ६ हजार ५ सय रुपैयाँ ब्याज प्राप्त भएको जानकारी गराए।
सहरी विकास कार्यालय डोटी र अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा ९ वटा सोलार बत्ती जडान गरिएका छन् भने समितिको आन्तरिक आमदानीबाट सिसी क्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले बताए।

२०६४ सालसम्म मन्दिरमा ४ आना मात्रै सुन रहेको थियो। उनका अनुसार अहिले साढे ७ तोलाका गहना रहेका छन्। साथै समितिका कानुनी सल्लाहकारको सहयोगमा उग्रतारा मन्दिर क्षेत्रको १ सय ७७ रोपनी जमिन दर्ता गर्न गुठी संस्थानले सर्त आदेश गरी मालपोत कार्यालयमा पठाइएको छ । २०३३ र ३४ सालको सर्वे नापीमा फिल्ड बुक कायम रहेको छ ।
अहिले मालपोत कार्यालयले नापी विभागबाट आदेश माग गरेको छ । आदेश आउनेबित्तिकै जमिन उग्रतारा माताको नाममा दर्ता भइ लालपुर्जा प्राप्त गर्ने अध्यक्ष साँकीले बताए ।
९ भगवतीका मन्दिरमध्ये एक ‘उग्रतारा’
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब ५ किलोमिटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीहरुका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । तर, पनि उग्रतारा भगवती मन्दिरो उत्पतिको किंवदन्ती भने रोचक रहेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।
उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरुले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानुपर्दछ। अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुस