कैलाली , चैत्र २४ ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तीका लागि आवश्यक पर्ने मापदण्डका बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ । सुदूरपश्चिम प्रदेश भ्रमणमा आएको ब्रिटिश गोर्खा र सिंगापुर पुलिसको छनौट प्रकृयाका लागि रिक्रुटिङ अधिकृतहरुको विशेष टोलीले उक्त जानकारी गराएको हो ।
नेपालको पूर्वी भेगबाट ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा बर्सेनी ठूलो सहभागिता हुने गरेपनि सुदूरपश्चिमका युवाहरु यस अवसरबाट बञ्चित हुँदै आएका छन् । सुदूरपश्चिमबाट पनि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तिको अवसर बढाउन उच्च तहबाट अधिकृतहरु सुदूरपश्चिम आएका हुन् ।भ्रमण टोलीमा ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका अपरेसन अफिसर हाना कारास र तीर्र्थ गुरुङ लगायत छन् ।
उक्त टोलीलाई सुदूरपश्चिाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्यायले स्वागत गर्दै ब्रिटिश गोर्खा आर्मी र सिंगापुर पुलिस फोर्सजस्तो आकर्षक र सम्मानित सेवामा यस क्षेत्रका युवाहरुको प्रवेशका लागि यो अवसर महत्वपुर्ण हुने विश्वास व्यक्त गरे ।
सो टोलीले बिहिबार सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तीका लागि आवश्यक पर्ने मापदण्डका बारेमा जानकारी दिदैँ उनीहरुलाई भर्तीका लागि उत्पे्ररित गरेको छ । ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा सुदूरपश्चिमका युवाहरुको सहभागिता बढाउन क्याम्पसको समन्वयमा भर्ती छनौट प्रकृयाबारे टोलीले क्याम्पसका विद्यार्थीहरुलाई जानकारी दिएको हो । सो टोलीले अझै केही हप्ता सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरेर युवाहरुलाई यस प्रकृयाबारे जानकारी दिनेछ ।