कञ्चनपुर बैशाख ,२ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो ।

निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो । राप्रपाका जय बहादुर बिष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् ।

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सपना चौधरी राना निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले बताउनु भयो ।

प्रतिक्रिया दिनुस