कञ्चनपुर भाद्र, १५ । सुदूरपश्चिमको मुख्य चाँड पर्व गौरा आज भाद्र शुक्ल पञ्चमीदेखि शुरु भएको छ । यो मुख्य चाँड पर्वको रुपमा सुदूरपश्चिमका साथसाथै भारतको कुमाउ गढवालसम्म मनाइने गरिन्छ । गौरा पर्वलाई सामाजिक सद्भावको पर्वको रुपमा पनि लिइन्छ । गौरा पर्व बिरुडापञ्चमीदेखि शुरु दुर्वाष्टमी अर्थात अठ्यावलीको दिन सकिने गर्दछ ।

गौरामा बिशेष गरेर शिव पार्वतीको पूजा गर्ने चलन रही आएको छ । खास गरेर यो पर्वको सम्बन्ध कैशाल पर्वतसंग रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखक बताउँछन् । उनि भन्छन् ‘मानसखण्ड भूमिमा धेरै किसिमका मौलिक संस्कृतिहरु रहेका छन् । ती मध्ये गौरापर्व पनि एक हो । यसमा शिव र पार्वतीको उपासना गर्ने गरिन्छ । यो पर्वमा खास गरेर महिलाहरुले ब्रत बसेर पूजा गर्ने चलन रही आएको छ ।’

गौरामा विवाहित महिलाले ब्रत बसी शिव र पार्वतीको पूजाआजा गर्ने गर्दछन् । शिवपार्वतीको जीवनगाथासंग जोडिएका फाग गाएर स्तुती गर्ने यो पर्वको बिशेषता हो ।बिरुडापञ्चमी गौरापर्वको मुख्य दिनको रुपमा बिरुडापञ्चमीलाई पनि लिइन्छ । विवाहित महिलाहरुले पञ्चमीकै दिनदेखि ब्रत बस्न शुरु गर्दछन् । कुनै बर्ष भाद्र शुक्ल पञ्चमी र कुनै बर्ष भाद्र कृष्ण पञ्चमीका दिन बिरुडा पञ्चमी पर्ने गर्दछ ।

यो बर्षको गौरा कृष्ण पक्षमा परेको छ । बिरुडामा पाँच प्रकार अन्न मिसाउने गरिन्छ । गहत, गुराउँस,केराउ, मास र गहुँ मिसाएर पञ्चबिरुडी बनाउने चलन रही आएको छ ।बिरुडापञ्चमीको दिन यी पाँच प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने चलन रही आएको छ । बिरुडा भिजाउने बेलामा पनि फाग गाउने गरेको चलन रहेको छ ।बिरुडापञ्चमीको दिन सबै ब्रतालु महिलाहरुले आ आफ्ना घरमा बिरुडा भिजाउने गर्दछन् । सबैले एक ठाउँमा बसेर फाग समेत गाउने गर्दछन् ।‘गौत गुरौस,गहुँ रे मास त कलौ बिरुडी नाइब पाया’ जस्ता फागहरु गाएर बिरुडा पञ्चमीको दिन बिरुडा भिजाउने चलन रही आएको छ ।

प्रतिक्रिया दिनुस