कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रदेश स्तरीय बोदोकैदो फुलकन्ट्याक्ट कराते प्रतियोगिता सञ्चालन हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ शुक्लाफाँटा बुदोकैदो शाखाको आयोजना एवं नगरपालिकाको सहयोगमा यही मंसिर २९ र ३० गते वडा नम्बर १ स्थित बन्साह खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

पुरुष र महिला गरी ११ तौल समुहमा कराते प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक लक्ष्मण बोहराले बताए । उनका अनुसार पुरुषतर्फ २५,३०,३५,४०,४५,५० किलो तौल समुह र खुलातर्फ प्रतिस्पर्धा हुने छ भने महिलातर्फ ४०,४५,५० किलो तौल समुह तथा खुलातर्फ प्रतिस्पर्धा गराइने छ ।

नकआउट चरणबाट खेलाइने प्रतियोगितामा प्रत्येक तौल समुहमा  पुरुष र महिलातर्फ प्रथम हुनेलाई ५ हजार,द्धितीय हुनेलाई ३ हजार,तृतीय हुनेलाई २ हजार तथा  सान्त्वनालाई १ हजार नगद सहित मेडल,ट्रफी,प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका तीन सय खेलाडीहरुको सहभागिता रहनेछ । आर्थिक संयोजक सागर विष्टले प्रतियोगितामा आकर्षक प्रदशर्नहरु खेलहरु समेत देखाइने छ । साँस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय कलाकार चक्र बमको विशेष प्रस्तुती रहनेछ ।

खेलकुदको माध्यमबाट व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिमा टेवा पुर्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक बोहराले बताए ।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने,खेलाडीहरुलाई अवसर प्रदान गरी खेलप्रति अभिप्रेरित गर्नुका साथै खेलकुदका माध्यमबाट विकृति हटाउँदै सामाजिक सद्भाव कायम गर्न प्रतियोगिता आयोजना गरिएको आर्थिक संयोजक विष्टले बताए ।

प्रतियोगिताबाट शुक्लाफाँटाको पहिचान संगै खेलाडीहरुको सिप तथा क्षमताको विकास खेलाडीहरुको स्तर वृद्धि हुने आयोजकले विश्वास लिएको छ ।शुक्लाफाँटा नगरपालकामा २०७७ सालमा स्थापना भई सयौँ खेलाडीहरुलाई निरन्तर प्रशिक्षण गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुस