धनसिह धामी 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक सहकारीले उत्पादन गरेको चामल बजारमा बिक्रि वितरण शुरु गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले उत्पादन गरेको चामल बजारमा बिक्रि वितरण शुरु गरेको हो । एक बर्ष अघि मात्रै उदयदेव बहुउदेश्यीय सहकारीले भीमदत्त नगरपालिका १९ बागफाँटामा चामल उद्योग स्थापनाका लागि प्रशोधन उद्योग खोलेको थियो ।

उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारीले संचालन गरेको उदयदेव प्रशोधन केन्द्र मिलबाट उत्पादन गरिएको चामल बिक्रि वितरण शुरु गरिएको बताए । उनका अनुसार महेन्द्रनगर केन्द्रीय कार्यालय नजिकै खाद्यान्न बिक्रि केन्द्र संचालन गरेर बिक्रि वितरण गरिएको बताए ।

यस पटकको धान सिजनमा २ हजार ३५८ क्विन्टल धान खरिद गरेर चामल उत्पादन गरेर बिक्रि शुरु गरिएको बताए । ‘सरकारले तोकेकै सर्मथन मुल्य प्रतिकिलो ३२ रुपैयामा हामीले किसानबाट धान खरिद गरेका थियौँ, ‘उनले भने, ‘त्यही धान हामीले प्रशोधन गरेर चामल उत्पादन गरेका छौँ ।’ बजारमा मध्यम मोटा चामलको न्यूनतम ६०रुपैया किलो भएपनि उदयदेवले प्रतिकिलो ५३रुपैयाका दरले बिक्रि वितरण गरिरहेको बताए ।

‘एककिलो चामल उत्पादनमा ५८रुपैया लागत लाग्दैछ, ‘उनले भने, ‘तरपनि हामीले किसान र उपभोक्ताको माग अनुरुप लागत भन्दा कम मुल्यमा चामल बेचिरहेका छौँ, हामीलाई ब्रान र भुषाबाट मेकअप हुन्छ ।’ अहिले २५किलोको बोरा बनाईएको छ, भने भावि दिनमा ५०किलोको बनाईने छ । निम्न विपन्न वर्ग मजदुर, विद्यार्थी सहितलाई लक्षित गरेर मध्यम मोटा चामल उत्पादन गरेर बजारमा बिक्रि वितरण शुरु गरिएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाई कञ्चनपुरको २४ लाख, १० हजार र सहकारीको १३ लाख, ३३ हजार गरी झण्डै ३५ लाख, ४३ हजार ३३ हजार, ७१४ गरी कुल ३७लाख, ४३ हजार, ७१४ रुपैया लागतमा उद्योग स्थापना गरिएको थियो । सहकारीले प्रशोधन केन्द्र सहित बिभिन्न उन्नत जातका बिउबिजन समेत उत्पादन गर्दै किसानलाई वितरण गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाई कञ्चनपुरका प्रमुख सन्जु रिमाल(जोशी)ले सहकारीले किसानबाटै धान खरिद गरेर उपभोक्तामाझ ताजा चामल ल्याएसंगै किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताईन । ‘जबसम्म कृषकले उत्पादन गरेको बस्तु सहजै बिक्रि वितरण हुँदैन, तबसम्म किसान जहिल्यै समस्या पर्छ, कञ्चनपुरमा यसरी चामल उत्पादन गर्ने उद्योग खुलेसंगै किसान लाभान्वित भएका छन, ‘उनले भनिन, ‘निम्न बर्गलाई समेत खरिद गर्न सहज हुनेछ ।’

कृषि मार्फत जनताको आर्थिक गतिबिधी समेत बृद्धि हुने भएकाले उद्योग र बिक्रि वितरण केन्द्र नियमित संचालनमा जोडदिईन । उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक चित्राङ्ग थापाले सहकारीले बागफाँटामा राखेको कष्टम हायर सेन्टर मार्फत किसानका लागि खनजोत, बिउबिजनदेखि उत्पादन गरेका बस्तु खरिद गर्दै प्रशोधन गरेर बजारमा चामल ल्याउने कार्यले स्वदेशी कृषि बस्तु तथा सेवाको बजार प्रर्बद्धन हुने बताए ।

‘हामी सीमावर्ती जिल्लामा बसेका छौँ, भारत लगायत अन्य मुलुकबाट आउने चामल गुणस्तरहिन हुन्छ, ‘उनले भने, ‘यो त ताजा र गुणस्तर हुन्छ, किसान र उपभोक्ता दुवैलाई लाभ हुदैछ ।’ उदयदेव बहुउदेश्यीय सहकारीका उपाध्यक्ष निरन्जन प्रशाद भट्टले जनताको आवश्यकता चाहना अनुरुप सहकारीले धान खरिददेखि चामल बिक्रि वितरणले स्वदेशी बस्तुले बजार पाउने बताए । उनले निकट भविष्यमा पहाडी जिल्लाहरुमा समेत चामल पठाईने छ । उदयदेव बहुउदेश्यीय सहकारीका अध्यक्ष नारा जोशीले सहकारीले किसान लक्षित योजना कार्यान्वयनबाट किसान र आम विपन्न समुदाय लाभान्वित हुने बताईन । अध्यक्ष जोशीले सहकारीले भावि दिनमा समेत थप कार्यक्रम संचालन गर्ने बताईन । यसरी उदयदेव सहकारीले विपन्न निम्न आय भएका उपभोक्ता हर्षित भएका

छन ।

 

प्रतिक्रिया दिनुस