कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा प्रद्यानाध्यापक स्थायी रहेका छन । शुक्लाफाँटा नगरका २८वटै सामुदायिक विद्यालयमा स्थायी प्रकृतिका शिक्षक प्रद्यानाध्यापक नियुक्त भएका हुन । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टले नगर कार्यापालिका निर्णय अनुरुप नगरका सबै विद्यालयमा प्रअ व्यवस्थापन गरिएको बताए । यस अघि राहत, अनुदान, बाल विकास शिक्षकले प्रअको नेतृत्व सम्हालेका थिए ।
‘हामीले नगरमा शिक्षक दरबन्दी मिलानदेखिका कार्यक्रम केही समय अघिदेखि शुरुवात गरेका थियौँ, ‘उनले भने, ‘शुनपा ८बेलडाँडीको सिद्धनाथ माविमा पनि बिहीबार टुङग्याएका छौँ ।’ शिक्षा शाखा प्रमुख भट्टले सिद्धनाथ माविमा प्रअ व्यवस्थापनसंगै नगरका सबै विद्यालयमा भएको बताए । उनका अनुसार उक्त विद्यालयमा स्थायी प्रकृतिका शिक्षक राजेन्द्र पाण्डेयलाई प्रअ र निवर्तमान प्रअ गोबिन्द ढाँटलाई सहायक प्रअको जिम्मेबारी दिएको बताए ।
यस अघि सिद्धनाथ माविमा राहत शिक्षक गोबिन्द बहादुर ढाँट नेतृत्वमा थुप्रै शैक्षिक गुणस्तर एव भौतिक बृद्धि विकास भएको बताए । ‘निर्वतमान प्रअ ढाँट नेतृत्वमा विद्यालयमा भएको भौतिक, शैक्षिक प्रगतिलाई पालिकाले मुल्याङकन गरेको छ, ‘उनले भने, ‘अबपनि विद्यालयको बृद्धि विकासमा हामीले अपेक्षा राखेका छौँ ।’ शिक्षाको नीति, विधी अनुरुप तहगतदेखि स्थायी शिक्षकलाई सामुदायिक विद्यालयको नेतृत्व सुम्पिएको शाखा प्रमुख भट्टले बताए ।
सिद्धनाथ माविका निर्वतमान प्रअ गोबिन्द बहादुर ढाँटले शैक्षिक गुणस्तर र विद्यालयको बृद्धि विकासका लागि आफुले कुनैपनि कसर बाँकी नराख्ने बताए । नेपाल शिक्षक महासंघ शुक्लाफाँटा नगरको अध्यक्ष समेत रहेका ढाँटले नगरकै शैक्षिक बृद्धि विकासका लागि आफ्नो भूमिका निर्वाहमा जोडदिए । शुक्लाफाँटा नगर शिक्षा समितिका अध्यक्ष एव मेयर रण बहादुर महराले नगरमा सामुदायिक विद्यालयमा देखिएको समस्या समाधानका लागि कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गरिएको बताए ।
मेयर महराले तहगत र स्थायी प्रकृतिका शिक्षकलाई सामुदायिक विद्यालयको नेतृत्व सहित थप शिक्षक दरबन्दी मिलान गरिएको बताए । ‘मैले चुनावमा गरेका बाचादेखि शिक्षा क्षेत्रमा केही न केही सुधार गर्नुपर्ने योजना अनुरुप चालु आर्थिक बर्षमा अढाईदेखि तीन करोड बजेट नै विनियोजन गरेर शिक्षाको कामकाज अघि बढाएको छु, ‘उनले भने, ‘यो कार्यामा शिक्षा शाखाले निकै मेहनत गरेको छ, सबै विद्यालयका निर्वतमान प्रअ सहितका शिक्षक सरोकारवालाको समेत साथ सर्मथन रह्यो, अब शिक्षा क्षेत्रमा देखिएका केही समस्या समाधान गर्दै नगरलाई शैक्षिक स्तरबृद्धि गर्ने मेरो र पालिकाको संकल्प अघि बढेको छ, फेरी पनि नयाँ जिम्मेबारी पाएका सबै शिक्षकले ईमान्दारितापुर्वक सामुदायिक विद्यालय, विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्नुपर्छ ।’ मेयर महराले सामुदायिक विद्यालय बनाउने अभियान नगरको सपना साकार पार्नका लागि सरोकारवाला गम्भिर भएर आ–आफ्नो ठाँउबाट भूमिका निर्वाहमा जोडदिएका छन ।