महेन्द्रनगर । नेपाली एवं संस्कृत साहित्यका मूर्धन्य विद्वान्, आध्यात्मिक साधक, समाजसेवी तथा साहित्यकार चूडामणि शास्त्री ढकाल (वि.सं. १९८२–२०५३) को जन्मशताब्दी वर्ष शुभारम्भ समारोह एक विशेष कार्यक्रम बिच सम्पन्न भएको छ ।
बुधबार महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मुक्तिनारायण मन्दिरका उपाध्यक्ष स्वामी श्री हरिप्रपन्नाचार्यको सभापतित्व एवं मानसखण्ड फाउन्डेसनकी अध्यक्ष साहित्यकार नारा जोशीको प्रमुख–आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठका प्राचार्य प्रा. भोजराज जोशी, साहित्यकारहरू तुलसीप्रसाद पण्डित, मधु हमाल, पुरुषोत्तम जोशी, श्यामसुन्दर ढकाल, नवराज उप्रेती आदिको उपस्थिति रहेको थियो । साहित्यकार हरिप्रसाद खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरूले साहित्यकार चूडामणि शास्त्री ढकालको जीवनी, व्यक्तित्व र योगदानका विषयमा उल्लेख गेरेका थिए ।

विश्वोद्वारक सन्मार्ग रक्षा (वि.सं. २०१०)बाट आफ्नो साहित्यिक प्रकाशनयात्रा प्रारम्भ गर्नुभएका साहित्यकार शास्त्रीका श्रीमद्भगवद्गीता (२०१४), शुक्लयजुर्वेद–संहिता (२०५२) मोक्षोपनिषद् (२०४६), वेदस्तुतीः (२०५२) लगायत अनेकौं ग्रन्थका नेपाली पद्यानुवाद र व्याख्या प्रकाशित छन् । यस्तै उहाँका ज्ञानोदय (खण्डकाव्य २०१२), गोरक्षा सन्देश (खण्डकाव्य २०१२), त्रिवेणी (चम्पूकाव्य २०१५), नारीपतन (शोककाव्य २०१६), अर्थपञ्चक कौमुदी (संस्कृत पद्य एवं नेपाली गद्यमा विवेचना २०२४), रहस्यत्रयम् (संस्कृत पद्य एवं नेपाली गद्यमा विवेचना २०२४), विद्यार्थी युगका राम (पर्चा साहित्य २०३६), वेदांश–चूडामणि (काव्य २०४४),श्रीसहस्रगीति महाकाव्य (२०६१) लगायत दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

साहित्यकार चूडामणि शास्त्री ढकालको जन्म वि.सं. १९८२ पौष १० गते इलाम, नामसालिङमा भएको थियो । जनकपुर, वाराणसी, वृन्दावन आदि स्थानमा अध्ययन गरेर भारतको असम, चितवन, निजगढ (बारा) मा बसाइँ सर्दै वि.सं. २०३१ मा सुदूरपश्चिम महेन्द्रनगर आएपछि यसै स्थानलाई आफ्नो कर्मभूमि बनाउनु भएका साहित्यकार शास्त्रीको देहावसान वि.सं.२०५३ मंसिर २४ गते भएको थियो ।

साहित्य साधनाका अतिरिक्त श्री वैदिक धर्म प्रचारिणी समिति आसाम, गोहत्या निरोध समिति आसाम, पक्षपात पतितोद्वार समिति आसाम, श्रीवैष्णव–धर्म–प्रचारिणी समिति आसाम, अखिल नेपाल श्रीवैष्णव समिति, शारदा विद्यापीठ महेन्द्रनगर, महाकाली साहित्य सङ्गम, लक्ष्मी नारायण मन्दिर धनगढी, श्रीराधाकृष्ण मुक्तिनारायण मन्दिर, वेदोक्त सामाजिक तथा धार्मिक सुधार संस्था, भगवन्नामामृत कीर्तन समिति महेन्द्रनगर लगायत विभिन्न संस्थाको स्थापना र सञ्चालनमा समेत विशेष योगदान दिनुभएका साहित्यकार चूडामणि शास्त्री ढकालको जन्मशताब्दी वर्षको अवसरमा विभिन्न स्थानमा विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुस