बेलडाँडी । कञ्चनपुर जिल्लाको सबैभन्दा सानो पालिका बेलडाँडी गाउँपालिका हो । त्यहाँका प्रमुख हरिशचन्द्र राना आदिवासी जनजाति समुदायका हुन् । रानाथारु समुदाय सरल र सोझो जाति भएकै कारण उनीहरुमाथी राजनितिक हस्तक्षेप भईरहन्छ ।

 

शिक्षण पेशा परित्याग गरी राजनीतिमा होमिएका हरिशचन्द्र राना कुशल युवा नेता मात्र होइनन्, एक लोकप्रिय समाजसेवी पनि हुन् । संघीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि भारी मतान्तरले विजयी भएका राना स्थानीय विकासप्रति गम्भीर देखिन्छन् । उनले आफ्नो कार्यकालमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएका छन्, जसअन्तर्गत ‘बेलडाँडी रिङरोड’ को अवधारणा अघि सारेका छन् । साथै, कालिकिच ताललाई स्थानीय बजारसँग जोड्ने चवन्नी–कालिकिच सडक निर्माणको अभियान अघि बढाएका छन् । यसले स्थानीय व्यापारी, सर्वसाधारण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने निश्चित छ ।

 

तर, विकासका यी महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन भइरहेका बेला प्रमुख रानाविरुद्ध भित्री तथा बाहिरी घेराबन्दी सुरु भएको छ । स्थानीयका अनुसार, बेलडाँडीको विकासका लागि अघि बढाइएका योजनाहरूमा स्थानीयदेखि प्रदेश र संघीय तहसम्मका केही जनप्रतिनिधिहरू नै अवरोध सिर्जना गरिरहेका छन् । चवन्नी–कालिकिच सडक खोल्ने विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेको छ ।

 

राजनीतिक स्वार्थका कारण अवरोध ?

 

स्थानिय तहका केही जनप्रतिनिधिहरूले विकास योजनालाई नै रोक्न खोजेको आरोप लाग्दै आएको छ । विशेष गरी प्रदेशसभा सदस्य दिवान बिष्ट तथा संघीय सांसद तारालामा तामाङको भूमिका विवादित बनेको छ । बिष्टले प्रमुख रानालाई दबाब दिइरहेको स्थानीयबासीको आरोप छ । संघीय सांसद तामाङले समेत संसदमा स्थानीय सरकारविरुद्ध झूटो सूचना प्रवाह गरेको भन्दै उनीमाथि बेलडाँडी बासी लगायत क्षेत्रबासीहरु असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

 

स्थानीय जनताले सडक विस्तारको समर्थन गर्दै यसलाई पूरा गर्नुपर्ने बताएका छन् । केही साना व्यापारी तथा वडाध्यक्षहरू स्वयं आफ्नो व्यवसायिक संरचना खाली गरिरहेका छन्, तर एमाले–काँग्रेस निकटका केही नेताहरू भने आफ्ना निजी संरचनाहरू जोगाउन लागिपरेका छन् । एमाले प्रदेश कमिटी सदस्य अभिमान थापा, पूर्व जिल्ला सदस्य भीम बहादुर थापा तथा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ लगायतका नेताहरू सडकको मापदण्ड परिवर्तन गर्न दबाब दिइरहेका छन् ।

 

प्रमुख रानाको बलिदान

 

गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले आफ्नो ७ कट्ठा निजी जग्गा त्यागी व्यावसायिक घरेडी किनेर घर बनाएका थिए । तर, नक्साअनुसार ती संरचनाहरू हटाउनुपरेपछि उनले ठूलो लगानी गुमाएका छन् । वडाध्यक्षहरू लगायत व्यापारीहरुको पनि यही अवस्था छ । कानुन सबैका लागि समान हुनुपर्ने माग गर्दै स्थानीयहरू नक्सा अनुसारको सडक खोल्नु पर्ने आवाज उठाइरहेका छन् ।

 

यसरी, विकास निर्माणका महत्वपूर्ण परियोजनाहरूमा अवरोध सिर्जना गर्नु राजनीतिक पूर्वाग्रहको उपज हो भन्ने स्पष्ट देखिन्छ । यदि प्रमुख रानाको योजनाअनुसार नै सडक निर्माण सम्पन्न भयो भने, बेलडाँडीले समग्र विकासमा महत्वपूर्ण फड्को मार्नेछ ।

प्रतिक्रिया दिनुस