बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजार हुँदै कालिकिच ताल जोड्ने मुख्य सडक विस्तार कार्य अगाडि बढाएपछि स्थानीय तहमा विवाद उत्पन्न भएको छ । गाउँपालिकाले नक्सा अनुसार सडक विस्तारको योजना अघि बढाए पनि उपाध्यक्ष शान्ति नाथको विरोधले उक्त कार्यमा अवरोध सिर्जना भएको छ ।

गाउँ कार्यपालिकाले सर्वसम्मत रूपमा ९३ प्रतिशत कार्यपालिका सदस्यहरुले दुई पटक निर्णय गर्दै सडक विस्तार योजना स्वीकृत गरेको थियो । सडक निर्माणका लागि रु १ करोड तथा कालिकिच ताल पर्यटन प्रवद्र्धनका लागि रु ९० लाखको बजेट विनियोजन गरिएको थियो । तर, उपाध्यक्ष नाथले विकास विरोधी गतिविधि गर्दै सडक विस्तारमा अवरोध पुर्याएको स्थानीय स्रोतको दाबी छ ।

नाथको विरोध र विकास विरोधी आरोप

यो पहिलो पटक होइन, उपाध्यक्ष नाथले यसअघि १५ सैया अस्पताल निर्माणका लागि अतिक्रमित जमिन खाली गर्ने क्रममा पनि अवरोध पुर्याएकी थिइन् । त्यसबेला उनले डोजरमा ढुंगा प्रहार गर्न लगाएर सरकारी उपकरणमा क्षति पुर्याएको आरोप लागेको थियो ।

अहिले फेरि उनले सडक विस्तारमा अवरोध गर्दै मनपर्नेको संरचना जोगाउने र मन नपर्नेको हटाउने नीति अख्तियार गरेको स्थानीयले बताएका छन् । नाथको घर समेत सडकको कित्ता नं.१५७ नक्साभित्र पर्ने भएकाले उनले व्यक्तिगत स्वार्थमा सडक विस्तार रोक्न खोजेको आरोप छ । यति मात्र होइन नाथले आफ्नो सडकका नक्सा भित्र रहेको ३ तले घर जोकी हाल सम्म १५७ नं. सडकको कित्तामा छ तर उनले सो घर हुलाकी सडकमा हरेको ३५७ नं. कित्तामा देखाएर पालिका, कन्सेलटेन्सी, बैंकलाई समेत झुक्याएका थिए ।

तर उनको सोही घरकै विषयको मुद्धा अहिले समेत अख्तियारमा विचाराधिन अवस्थामा रहेको छ । उनको ठाउँमा कोही गरिब भएको भए सायद अहिले कानुनी कार्वाही हुन्थो होला तर उनी नेताहरुको संरक्षणमा हुदा कार्वाही विचाराधिनमा रहेको स्थानीयको आरोप छ । गाउँ कार्यपालिकाका १४ जना सदस्यहरूमध्ये १३ जना विकासको पक्षमा उभिए पनि उपाध्यक्ष नाथले फरक मत राख्दै निर्णय उल्ट्याउने प्रयास गरिरहेकी छिन् ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा नैतिकता प्रदर्शन

गाउँपालिका प्रमुख हरिश चन्द्र रानाले व्यवस्थित बजार निर्माणका लागि आफ्नो व्यवसायिक सटरमा समेत डोजर लगाएर सडक विस्तारको शुभारम्भ गरेका थिए । रानाले उक्त घरेडी आफ्नो ७ कट्टा जमिन संग साटेर बनाएका थिए ।

उनले नक्सा अनुसार सडक खोल्न आफूले नेतृत्वदायी भूमिका खेलेका छन् । वडा नं. २ का अध्यक्ष नारद सिंह उर्याल र वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले समेत आफ्ना व्यवसायिक संरचना हटाएर नैतिकता प्रदर्शन गरेका छन् ।

यस्तै विकासवादी स्थानीयले समेत नक्सामा पर्ने आफ्ना संरचनाहरु हटाएका छन् । तर, केही नेताहरूको आडमा केही हुनेखाने व्यक्तिहरूले आफ्ना संरचना बचाउन खोजेको स्थानीयहरूको गुनासो छ । मुखले विकासबादी देखिए पनि व्यवहारले विकास विरोधी रहेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीयको मागः न्याय सबैका लागि समान हुनुपर्छ

सडक विस्तारका क्रममा विस्थापित हुनेहरू समान न्यायको माग गर्दै आन्दोलित भएका छन् । उनीहरूले गरिब र धनी सबैका लागि एउटै नियम लागू हुनुपर्नेमा जोड दिएका छन् । सडक विस्तार गरिए पनि केही व्यक्तिहरूको संरचना यथावत् राखिँदा अन्य विस्थापितहरू अन्यायमा परेको महसुस गरिरहेका छन् ।

स्थानीयहरूको भनाइ छ, “हामीलाई जबरजस्ती हटाइयो तर, केही व्यापारीहरू उसै ठाउँमा व्यापार गरिरहेका छन् । यस्तो विभेद कसरी न्यायोचित हुन्छ ?“ उनीहरूले नक्सा अनुसार सबैका लागि समान नियम लागू गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

बेलडाँडीको दिगो विकासका लागि नक्साको बाटो खोल्नुपर्ने स्थानीयहरुको माग छ भने उक्त कार्य भए बेलडाँडीमा धेरैको राजनितिमा समेत पुर्णविराम लाग्ने देखिएको छ । पुर्णविराम लाग्नबाट जोगिन उनीहरु जे गर्न नि तयार रहेको देखिएको छ । बेलडाँडीको दिगो विकासका लागि पारदर्शिता, समान न्याय र निष्पक्ष निर्णय अनिवार्य रहेको स्थानीय बुद्धिजीवीहरूको मत छ ।

प्रतिक्रिया दिनुस