बेलडाँडी । बेलडाँडी गाउँपालिकामा सरकारी लेटरप्याड दुरुपयोग भएको विषयले अहिले ठुलो चर्चा पाएको छ । गाउँपालिकाको आधिकारिक लेटरप्याडको मनोगत प्रयोग गर्दै निकट व्यक्तिलाई मलखाद वितरणका लागि सिफारिस गरिएको आरोपसहित बेलडाँडी गाउँपालिका उपाध्यक्ष तथा मलखाद वितरण व्यवस्थापन समितिकी संयोजक शान्ति नाथमाथि कारबाहीको माग उठेको छ ।
पालिकाभित्र भइरहेको निर्णय कार्यान्वयन नभएको भन्दै बेलडाँडी गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गजबहादुर बिष्टले गाउँपालिकालाई लिखित निवेदन पेश गर्दै चाँडो कारबाही नगरे जिम्मेवारीबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
उनले भने, “यदि पालिका सही तरिकाले अघि नबढ्ने हो भने, म पद त्यागेर जनताको माझ फर्किन्छु ।“ केही महिना अघि उपाध्यक्ष नाथले आफ्नो अधिकारभन्दा बाहिर गएर पालिकाको आधिकारिक लेटरप्याडको प्रयोग गर्दै एक सहकारीलाई मलखाद वितरणका लागि सिफारिस गरेको पाइएको थियो ।
यस निर्णयबारे गाउँपालिकाभित्रै असन्तुष्टि छाएको थियो । नियमविनै मनपरी ढंगले निर्णय गरेर आफ्ना निकटका मानिसलाई मलखाद सिफारिस गरिएको भन्दै यो विषयको निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरिएको छ । बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐेरका अनुसार उपाध्यक्षलाई केवल अध्यक्ष अनुपस्थित रहँदा मात्र का.वा. अध्यक्षको रूपमा पालिकाको आधिकारिक लेटरप्याड प्रयोग गर्ने अधिकार रहन्छ ।
तर यता यस्तो देखिएन । यस विषयमा हिजो कार्यपालिकाको बैठक बिना निष्कर्ष टुङ्गिएको जनाए । कार्यपालिका सदस्यहरूले समेत उपाध्यक्ष शान्ति नाथले लेटरप्याड दुरुपयोग गरेको बताउदै उनकै गल्ति भएको आरोप लगाए । उनले कम्जोरी स्वीकार गर्नु पर्थ्यो त्यसो गर्नु भएन त्यसको परिणाम स्वयम् उपाध्यक्षले बेहोर्नु पर्ने जनाए । यसअघि पनि उपाध्यक्ष नाथले पटक–पटक स्थानीय सरकारले गरेका निर्णय विपरित गैरजिम्मेवार बनेको आरोप लाग्दै आएको छ ।
यस विषयमा स्थानीयवासीहरूले समेत कडा असन्तुष्टि जनाउँदै सरकारी लेटरप्याडको दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् । “सरकारी कागजातको दुरुपयोग गम्भीर विषय हो ।
यदि यसलाई समयमै नियन्त्रण गरिएन भने भोलि अरू निर्णयहरू पनि मनपरी तरिकाले गरिन सक्छन् ।“ उपाध्यक्ष नाथले कार्यपालिका बैठकमा लेटरप्याड आफुले प्रयोग गर्न पाउने जिकिर गरेका छन् । अध्यक्ष जस्तै आफुपनि भएको बताउदै आफुलाई समेत निर्णय गर्ने अधिकार भएको बताइन् । यो घटनाले पालिकाको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । अब गाउँपालिकाले यस विषयमा कसरी अगाडि बढ्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।