पहिलाद राना
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी ग्रामिण क्षेत्र लालझाडी गाउँपालिकामा नेपाली सेनाले विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको सुदूरपश्चिम पृतना अन्तरगत कञ्चनपुरको २५ नम्बर वाहिनीले शनिबार लालझाडी गाँउपालिका–०२ कञ्ज गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

लालझाडी गाउँपालिकाका प्रवक्ता एवं २ नं. वडाअध्यक्ष आशाराम रानाले निःशुल्क स्वास्थ्य शिबिरबाट ८ सय ३४ नागरिकले सेवा लिएको बताए । उनका अनुसार ५ सय १६ महिला र ३ सय १८ पुरुष रहेको बताउनु भएको छ ।

११ सेना र ६ महाकाली अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरुबाट सेवा प्रदान गरिएको छ । फिजियोथेरापी, छालातथा यौनरोग, अर्थोपिडिक, अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, दन्त, स्त्री, बाल रोग, नाक, कान, घाटी लगायत निःशुल्क स्वास्थ्य चेकजाँच, उपचार गरिएको छ । साथै सेनाले अपाङ्गता भएकाहरुलाई बैशाखी, ह्यलीचियर समेत वितरण गरेको छ ।

महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सेनाले यसरी ग्रामिण क्षेत्रमा सञ्चालन गरेको निःशुल्क शिबिरबाट नागरिकलाई विशेषयज्ञ सेवा पुगेको बताए । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गाउँपालिका सहित सरोकारवालासंग सेनाले सञ्चालन गरेको कार्यक्रमले केही नागरिक लाभान्वित भएको बताए ।

२५ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी माधव थापाले नागरिक र सेनाविचको सम्बन्ध विस्तारका साथै समाजिक उत्तरदायित्व बहनका लागि उक्त कार्यक्रम गरिएको बताए । निःशुल्क गाँउमै स्वास्थ्य सेवा पाएपछि नागरिक हर्षित भएका छन ।

शिविर अघि नेपाली सेना सम्बन्धी बृत्तचित्र प्रस्तुत, लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कक्षा, मानव बन्यजन्तुविच द्वन्द्व न्यूनिकरणका लागि बृतचित्र प्रस्तुतका साथै लालझाडीका सार्वजनिक क्षेत्रमा सरसफाई, माईन जोखिम सचेतना, युवा सचेतना, महाकाली मावि र श्रीदल गुल्मविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । गाउँमा सेना सहितका सरोकारवाला सरकारी निकाय पुगेपछि नागरिक समेत हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस