
बेलडाँडी । बेलडाँडी गाउँपालिकामा विकासका काम अघि बढाउँदै आएका गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना निरन्तर अवरोधको सामना गरिरहेका छन् । खुला राजनीतिमा होमिएका रानाले शिक्षा पेशा त्यागेर गाउँपालिकाको नेतृत्व सम्हालेपछि विकासका धेरै योजनाहरू अघि बढाए । तर, एमालेले स्वार्थी राजनीति गर्दै विकास कार्यमा अवरोध सिर्जना गरिरहेको स्थानीयहरूको गुनासो छ ।
संघिय व्यवस्था पछि बेलडाँडीमा पहिलो पटक सत्ता सम्हालेको एमाले नेतृत्वको स्थानीय सरकारले ग्रिनबेल्ट क्षेत्रको संरक्षण गर्ने निर्णय गरेको थियो । अवैध संरचनाहरू हटाउने घोषणासहित निर्णय लिइएको भए पनि कार्यान्वयन हुन सकेन । पाँच वर्ष सत्ता सम्हालेको एमाले सरकार निर्णय मात्रै गर्दै बित्यो, तर कार्यान्वयनमा चुकेपछि अहिले आफैंले गरेको निर्णय उल्ट्याउने प्रयास गरिरहेको छ ।
गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले अघिल्लो सरकारको अधुरो काम पूरा गर्ने क्रममा खेलमैदान निर्माणदेखि नक्सामा रहेका सडक खोल्ने प्रयास गरे । भविष्यलाई ध्यानमा राख्दै फराकिलो सडक बनाउने योजनाअनुसार उनले आफ्नै सडकको नक्सा भित्र पर्न लागेको व्यवसायीक सटरमा डोजर लगाए । प्रमुख रानाको सटर संगै जोडिएका अन्य साना व्यवसायी तथा सर्वसाधारण स्थानीयले नक्साभित्रका आफ्ना संरचना हटाए पनि एमालेका नेताहरूले भने अवरोध सिर्जना गर्दै संरचना हटाउन नदिने अडान लिए ।
सडक विस्तारका लागि नक्साअनुसार काम अघि बढाइरहेको बेला एमालेका नेताहरूले स्थानीय सरकारले बनाएका विकासी योजना असफल बनाउन विभिन्न षड्यन्त्र गर्दै प्रधानमन्त्री केपी ओली सम्म झुठा कुरा लगाए । पालिका प्रमुख रानाले डोजर प्रयोग गरेर नक्सामा उल्लेखित सडक खोल्न खोज्दा बेलडाँडी एमालेले स्थानीयलाई उचालेर विरोध गर्न लगाए । एमालेकै निर्देशनमा केही समूहले सडक विस्तारका क्रममा डोजरमा आगो लगाउने प्रयास प्रयास समेत भएको श्रोतले बताएको छ ।
एमाले नेताहरूले सार्वजनिक रूपमा विकास अवरोध नगरेको बताए पनि सुरक्षा निकायले संकलन गरेका प्रमाणहरूमा उनीहरूको संलग्नता देखिएको स्थानीय प्रशासन स्रोतको दाबी छ । विकासका कामलाई अवरुद्ध गर्ने, झूटा आरोप लगाउने र स्वार्थी राजनीति गर्ने प्रवृत्तिले बेलडाँडीको भविष्य अन्योलमा पार्ने खतरा बढेको छ । स्थानीय सरकारले कानुनी प्रक्रिया अपनाएर काम गरिरहेको अवस्थामा अनावश्यक अवरोध गर्नु लोकतान्त्रिक मूल्यमान्यताविरुद्धको कार्य हो ।
यदि स्थानीय सरकारको कुनै काम मनोमानी हुन्छ भने त्यसलाई कानुनी रूपमा कारबाही गर्ने संयन्त्रहरू छन् । तर, विकासका काम नै रोक्ने, जनहितका योजनाहरू अवरुद्ध गर्ने काम लोकतान्त्रिक संस्कृतिको हिस्सा हुन सक्दैन । बेलडाँडीका जनताले अब आफैं विचार गर्नुपर्ने बेला आएको छ– विकासलाई निरन्तरता दिने कि अवरोध गर्नेहरूकै पछि लाग्ने ?
प्रतिक्रिया दिनुस