झलारी । श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूह कलुवापुरले विभिन्न समस्या र पीडामा परेकाहरूलाई आर्थिक सहायता गर्दै आएको छ। सामुदायिक वनले गरिब अति विपन्न दुर्घटनामा परी खाइते तथा आर्थिक अवस्था कमजोर रहेका विभिन्न दीर्घ बिरामीहरुलाई आर्थिक सहायता गरेको छ ।
चालु आर्थिक वर्षमा मात्रै झन्डै ६० हजार आर्थिक सहायता विभिन्न समस्यामा परेका आफ्ना उपभोक्ता तथा स्थानीयहरूलाई प्रदान गरिएको श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमरबहादुर ऐरले जानकारी गराउनुभयो। अध्यक्ष ऐरका अनुसार सामुदायिक वनको कार्यक्षेत्रभित्र रहेका आर्थिक अभावले उपचार गर्न नसकेका तथा गरिब विपन्न दलित समुदायका मानिसहरूलाई आर्थिक सहायता गर्दै आएको बताउनुभयो।
अध्यक्ष अमरबहादुर ऐरका अनुसार शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका क्यान्सर रोगबाट पीडित लालबहादुर खुना लाई ७ हजार र सामुदायिक वन संस्थाका पूर्व सचिव (२०५४ देखि २०६७) मानसिंह भण्डारीलाई स्वास्थ्य उपचारका लागि ७ हजार आर्थिक सहायता प्रदान गरिएको छ। यस्तै सामुदायिक वनका अनुसार अमरपुरका अति विपन्न तथा एकल महिला गङ्गा लुहार, सीमा लुहार र जसु सुनार लाई जीविकोपार्जनका लागि जनही ५ हजार रूपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ।
वनले वन वातावरणको संरक्षणसँगै आफ्ना उपभोक्ताहरूलाई जीविकोपार्जन तथा गरिब र अति विपन्नहरुलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। विभिन्न समयमा विविध सिपमूलक क्रियाकलापहरूसँगै गरिब तथा विपन्न परिवारलाई आर्थिक सहायता प्रदान गरिने कार्यक्रम आगामी आर्थिक वर्षहरूमा पनि निरन्तर गरिने वनका अध्यक्ष अमरबहादुर ऐरले जानकारी गराउनु भयो।
यस्तै केही समयअघि आगलागीबाट पोल्टी फारम चलेर नष्ट भएकी धनदेवी ऐर र अमरपुरकै गोठमा आगलागी भई क्षति भए भएको भागिरथी केसीको परिवारलाई जनही ५ हजार रूपैयाँ आर्थिक सहायता गरिएको छ। सडक दुर्घटनामा परि घाइते भएका कलवापुरकै घुम्नी रानालाई उपचारका लागि ५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो। सामुदायिक वनले वन पैदावारको बिक्री वितरणबाट आम्दानी भएको रकमलाई उपभोक्ताहरूको सर्वाङ्गिण विकासमा खर्च गर्ने गरेको वनले बताएको छ।
विभिन्न कार्यक्रमहरू मार्फत बेला-बेलामा उपभोक्ताहरूको समृद्धिका लागि सामुदायिक वनले विविध क्रियाकलापको गर्दै आएको छ। यस्तै सामुदायिक वनले सडक दुर्घटनामा परी गम्भीर घाइते भएका खगेन्द्र ऐर लाई पाँच हजार रूपैयाँको सहायता र वर्षौंदेखि विद्युत जडान गर्न नसकेका विपन्न तथा गरिब मालिका टोलकी सुन्तली देवी कामीको घरमा विद्युत जडान कार्य गरिदिएको छ।