बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा विद्यार्थी संख्या न्यून हुँदै गएपछि स्थानीय तहले विद्यालयको कक्षा कटौती गर्न थालेको छ । पछिल्लो समय बेलडाँडीका तीन सामुदायिक विद्यालयमा पुनः कक्षा घटाइएको हो ।
गाउँपालिका श्रोत अनुसार हालै कार्यपालिकाको निर्णयअनुसार सिद्धनाथ आधारभूत विद्यालय सिद्धचोक, राधाकृष्ण आधारभूत विद्यालय बैवाह, र शैलेश्वरी आधारभूत विद्यालय ढकनियामा कक्षा घटाइएको छ । ती सबै विद्यालय कक्षा ८ सम्म सञ्चालनमा थिए भने अब ५ कक्षासम्म मात्र सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाका एक अधिकारीका अनुसार, “विद्यार्थी संख्या न्यून हुनुका साथै स्रोत साधन र शिक्षक व्यवस्थापनको सन्तुलन राख्नुपर्ने आवश्यकता भएकाले कक्षा कटौती गरिएको हो । यसले शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ ।”
यसअघि पनि बेलडाँडीका चार विद्यालयमा कक्षा घटाइएको थियो । तीमध्ये कालिका आधारभूत विद्यालय (वडा नं. १) मा कक्षा ६ हटाएर ५ कक्षासम्म सीमित गरिएको थियो । त्यसैगरी, त्रिशुली विद्यालय (वडा नं. २) मा कक्षा ३ सम्म मात्र, कञ्चन विद्यालय (वडा नं. २) मा पनि कक्षा ३ सम्म र कालिका आवि झिलमिलामा समेत कक्षा ३ सम्म मात्रै राखिएको छ ।
अभिभावक तथा स्थानीयले भने स्रोतको अभाव र विद्यार्थी घट्दो क्रमलाई ध्यानमा राख्दै यस्तो निर्णय अपरिहार्य भएको बताउँछन् ।
गाउँपालिकाले विद्यार्थी संख्याको मूल्याङ्कन, शिक्षकको व्यवस्थापन, र विद्यालयको भौतिक अवस्था आधारमा अन्य विद्यालयमा पनि पुनरावलोकन गरिने जनाएको छ । शिक्षाको गुणस्तरमा कमी आउन नदिने र आवश्यक कक्षा सञ्चालन गर्न विद्यार्थी संख्या पुग्ने विद्यालयलाई प्राथमिकता दिइने नीति लिइएको गाउँपालिकाले स्पष्ट पारेको छ ।