काठमाण्डौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरकी १३ बर्षिया निर्मला हत्याकाण्डको सहायक मुद्दा हो, पत्रकार खेम भण्डारी बिरुद्धमा दायर गरिएको गाली बेईजती ।
निर्मला हत्याकाण्ड भएपछि दैनिक मानिसखण्डका सम्पादक एव रेडियो महाकालीका संचालक खेम भण्डारीले निरन्तर मुद्दा उठाउँदै आएका थिए । पत्रकार भण्डारीले निर्मलाको हत्याकाण्डमा तत्तकालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी दिल्लीराज विष्टका छोरा किरण विष्ट, तत्तकालिन भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले गरेको भन्दै समाजिक सञ्जालदेखि समाचार प्रकासित गरेका थिए ।
त्यही प्रकरणमा किरण विष्ट र आयुष विष्टले ०७५साल चैत्र २२ गते जिल्ला अदालत कञ्चनपुरमा गाली बेईजती मुद्दा दायर गरेका थिए । पत्रकार भण्डारी बिरुद्धमा विष्टले दायर गरेको गाली बेईजती मुद्दा ७२महिना १० दिनमा फैसला भएको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश राजेन्द्र भण्डारीको इजलासले जेठ १ गते बिहीबार मुद्दा फैसला गरेको अदालतले जनाएको छ ।
कञ्चनपुर अदालतका सुचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारी बिरुद्धमा दायर भएको मुद्दाको फैसला भएको बताए । सुचना अधिकारी चन्दका अनुसार विष्टले दायर गरेको मुद्दामा पत्रकार भण्डारीलाई १ महिना कैद, १लाख क्षतिपूर्ति र १० हजार जरिवाना भएको छ । जाहेरवाला पक्षले न्याय पाएको धारणा सार्वजनिक गरिरहेका छन । उतिबेला निर्दोष किशोरमाथि जघन्य मुद्दामा मुछेर मानमर्दन गर्ने कार्य गरेको भन्दै न्यायालयबाट न्याय पाएको अनुभूति प्रकट गरिरहेका छन ।
यता पत्रकार भण्डारीले आफु बिरुद्ध भएको अदालतको फैसलाको सम्मान गर्ने बताएका छन । पत्रकार भण्डारीले समाजिक सञ्जाल मार्फत किरण विष्ट वादी रहेको मुद्दामा आफुलाई एक महिना कैद र जरिवाना गरेको भन्दै अदालतको सम्मान गर्ने बताएका छन । उक्त फैसला बिरुद्धमा तत्तकाल माथिल्लो अदालतमा जाने जनाउँदै निर्मलाको न्यायका लागि जिवनभर रहने पहिल्यै घोषणा गरेको जनाएका छन ।
यस अघि पनि निर्मला हत्याकाण्डको मुद्दामा अदालतको मानहानी बिरुद्धमा पत्रकार भण्डारीलाई १ रुपैया जरिवाना र १घण्टा कैद तोकेको थियो । ०७५साल साउन १०गते साथीको घरमा होमवर्क गर्छु भन्दै हिडेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला हत्याकाण्ड ७ बर्षवितिसक्दा पनि मुल पत्ता लागेको छैन । अहिले कञ्चनपुरकै गृहमन्त्री रमेश लेखक भएकाले निर्मलाका हत्यारा सार्वजनिक हुने पीडित परिवारले अपेक्षा राखेका छन । निर्मला हत्याकाण्डमा चरम राजनीति भएको भन्दै पहिलो निर्मलाका हत्यारा खै भन्नेहरु अहिले चुपचाप बसेका छन ।