बेलडाँडी । बेलडाँडी गाउँपालिका–३ कमरीका भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्यु भएको एक महिना बितिसक्दा पनि घटनाको यथार्थ अझै अज्ञात छ । बैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगर स्थित निर्मल आर्यघाट नजिकै जलिसकेको मोटरसाइकलसहित उनको शव फेला परेपछि यो घटनाले गाउँदेखि सहरसम्म सनसनी मच्चाएको छ ।

स्थानीय बासिन्दा र मृतकका आफन्तले यसलाई सामान्य घटना नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइरहेका छन् । हत्या, आत्महत्या वा दुर्घटना— कुन हो भन्नेमा अझै स्पष्टता नआए पनि घटनास्थल, समय र परिवेशले यसलाई झनै रहस्यमय बनाइदिएको छ ।

प्रहरी स्रोतका अनुसार, घटनाको अनुसन्धानमा अनुभवी अधिकृतहरूको टोली परिचालित गरिएको छ । टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण, शव परीक्षण रिपोर्ट, मोबाइल फोनको लोकेसन ट्रेसिङ, कल डिटेल्स, प्रत्यक्षदर्शीका बयान र डिजिटल प्रमाणहरूलाई विश्लेषण गर्दै अनुसन्धानको घेरालाई साघुरो पार्दै लगिरहेको छ ।

प्रहरी श्रोतकै अनुसार, अनुसन्धानमा कुनै पनि हचुवाको भरमा निष्कर्ष निकालिने छैन । प्रमाण, तथ्य र विज्ञानमा आधारित निष्कर्ष सार्वजनिक गर्ने प्रतिबद्धताका साथ अनुसन्धान अगाडि बढाइएको जनाउदै आएको छ । प्रहरी प्रशासनले यो मुद्दालाई बाहिरी दबाब होइन, आफ्नो कर्तव्य र जिम्मेवारीका आधारमा लिएको बताएको छ ।

“सत्य उजागर गर्न केही समय लाग्न सक्छ, तर यथार्थ पत्ता लगाएर बाहिर ल्याईने जनाएको छ ।,“ हरकिशनको मृत्युले केवल एक परिवारमा मात्र शोक होइन, सम्पूर्ण समाजमा प्रश्न र पीडा छोडेको छ । यस्तो अवस्थामा, निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर ल्याउने सबैको चाहना छ ।

पिडित परिवारले सत्यतथ्य छानविन भई दोषी उप्पर कडा कार्वाही हुनुपर्नेमा जोडदिदै आएको छ । परिवाले अनुसन्धान प्रक्रियालाई सघाइरहेको जनाइएको छ । थारु अगुवाहरुले समेत सत्यतथ्य घटना बाहिर ल्याउन गृहमन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई घचघच्याइरहेको छ । आम नेपालीको भावना एउटै छ— “समय लागोस्, तर सत्य लुकेर नबसोस् ।“

प्रतिक्रिया दिनुस