बेलडाँडी । “जहाँ दृढ इच्छाशक्ति र पारदर्शिता हुन्छ, त्यहाँ समृद्धि सम्भव छ” – बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको नेतृत्वले यो भनाइलाई साकार तुल्याउँदै गएको छ । शिक्षकको स्थिर करियर त्यागेर पालिका र जनताको सेवामा समर्पित भएका रानाको यात्रा आज बेलडाँडीका जनताको लागि आशाको नयाँ उज्यालो बन्दै गएको छ ।
अध्यक्ष राना कुनैबेला वडा नं. ५ स्थित गणेश माध्यमिक विद्यालयमा राहत शिक्षक थिए । बालबालिकामा चेतना भरिदिने प्रयासमा लागेका उनी, शिक्षण पेशामै सीमित नरहेर समाज परिवर्तनको अभिभारा लिएर राजनीतिमा होमिए । २०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखमा निर्वाचित भएका रानाले तीन वर्षको कार्यकालमै बेलडाँडीको रूपान्तरण गर्न थुप्रै ऐतिहासिक कदमहरू चाले ।
स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, खेलकुद लगायतका क्षेत्रमा उनले अघि सारेका योजनाहरू अब मूर्तरुप लिइरहेका छन् । १५ सैयाको अस्पताल स्थापनाबाट स्वास्थ्य सेवामा सहजता आएको छ, कोल्ड स्टोर र दुग्ध चिस्यान केन्द्रले किसानको उत्पादनलाई बजारसम्म पुर्याउने आधार तयार भएको छ । विद्यालयमा लगानी वृद्धि, डाउन साइज, विद्युत सबस्टेशन स्थापना, खेलमैदान निर्माणजस्ता पहलहरूले समग्र गाउँपालिकाको समृद्धिको गति बढाउने प्रयास हुन थालेको छ ।
यति मात्र होइन, रानाले उपभोक्तामैत्री, जनताको लागि, आम नागरिकको सहज आवागमनका लागि, फराकिलो र दीर्घकालीन सोचमा आधारित नक्साको सडक खोल्ने अभियान थाल्दा आफ्नो व्यवसायिक सटर सडक विस्तारका क्रममा हटाउँदै ’काम बोल्छ’ भन्ने सन्देश दिएका छन् । जब नेताहरू आफूभन्दा अरूलाई नियम देखाउँछन् तर आफू भने छली गर्छन्, त्यहाँ जनताको विश्वास डगमगाउँछ । तर रानाले आफूबाटै उदाहरण प्रस्तुत गर्दै स्थानीय तहको नेतृत्व कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएका छन् ।
तर, सफलताको यात्रामा काँडा छरिदैनन् भन्ने हुँदैन । गाउँपालिकाभित्रैबाट व्यक्तिगत स्वार्थ बोकेका केही समूह र व्यक्तिहरूले उनको पारदर्शी नेतृत्वमा निरन्तर अवरोध सिर्जना गरिरहेका छन् । निर्णय प्रक्रियामा असहयोग, योजनामा अविश्वास, अनि योजनालाई भ्रामक व्याख्या गर्दै विकास रोकेर स्वार्थका खेती गर्नेहरूको सक्रियता अझै घटेको छैन ।
स्वार्थ नपूरा भए पश्चात् विरोधमा उत्रिने प्रवृत्ति, योजनाको वास्तविकता बुझ्न प्रयास नगरी आलोचना गर्ने चरित्रहरूले जनतामाझ भ्रम फैलाउने कोसिस गरिरहेका छन् । तर यस्ता प्रपञ्च रानाको अडिग नेतृत्व अगाडि कमजोर सावित भइरहेका छन् । मैलाउ, मैखाऊ, मेरो मात्र भन्ने अहंकारबाट सयौंकोष टाढा रानाको बाटो भएकोले, विरोधीहरूको प्रपञ्च आफ्नै कालो छायामा बिलाइरहेका छन् ।
आज बेलडाँडीलाई आदर्श पालिका बनाउने यात्रामा हरिशचन्द्र राना न केवल नेतृत्वकर्ता, बरु मार्गदर्शक पनि बन्न थालेका छन् । शिक्षा पेशाबाट समाज रूपान्तरणको यात्रामा निस्केका रानाको इमानदार र दूरदर्शी नेतृत्वमा अब बेलडाँडीले समृद्धिको यात्रा अझ तीव्र बनाउने अपेक्षा गरिएको छ ।