वन विकास कोषमा तीन अर्ब रुपैयाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन। सो रकम छ वर्षदेखि प्रयोगविहीन छ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, विभिन्न पूर्वाधार विकासलगायत विभिन्न प्रयोजनका क्रममा काटिने रुखको सट्टा नयाँ रुख रोप्न तथा हुर्काउन सो कोष खडा गरिएको हो। कोषमा जम्मा भएको रकमले काटिएका रुखको सट्टामा नयाँ रुख रोपी हुर्काउने अनिवार्य प्रावधान रहे पनि अहिलेसम्म रुख रोप्ने काम शुरु गरिएको छैन। ६ वर्षअघि कोष खडा गरिएको थियो।

वन तथा वातावरण मन्त्रालयका अनुसार हरेक वर्ष विभिन्न पूर्वाधार विकासका क्रममा सवा एक लाख रुख काट्ने गरिन्छ। हरेक वर्ष सरदर ४५ वटा आयोजनाका लागि ६०५ हेक्टर क्षेत्रफलका सो सङ्ख्यामा रुख काटिने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। एक हेक्टर वनजङ्गल क्षेत्रमा झन्डै १६ सय बोटबिरुवा रहन्छन्। अहिले देशभरिको वनजङ्गलमा १० सेन्टिमिटर गोलाइभन्दा माथिका दुई अर्ब ५६ करोड ३२ लाख ७० हजार रुखबिरुवा छन्।

वन विभागका वन अधिकृत प्रयास घिमिरेले चालु आर्थिक वर्षको मसान्तसम्म वन विकास कोषमा दुई अर्ब ९८ करोड ५७ लाख १४ हजार ३२१ रुपियाँ जम्मा भएको जानकारी दिँदै कोषको उद्देश्य अनुसारको काममा सो रकम खर्च हुन नसकेको बताए। वन ऐन, २०७६ आएपछि २०७६ सालदेखि वन विकास कोषमा रकम जम्मा हुँदै आएको हो।

वन ऐनमा वन विकास कोषको व्यवस्था गरिएको छ। २०७६ सालदेखि वन विकास कोष खडा गरिए पनि वन नियमावली, २०७९ लागु भएपछि रुख काटेबापत रुख रोप्नुको सट्टा वन विकास कोषमा रकम जम्मा गर्ने प्रावधान लागु गरिएको हो। यसअघि कुनै आयोजनामा काटिएको रुखको सट्टा रुख नै रोप्नुपर्ने वा रकम जम्मा गर्नुपर्ने प्रावधान थियो। अहिले वन नियमावली, २०८१ (संशोधित) कार्यान्वयनमा छ।

प्रतिक्रिया दिनुस