कञ्चनपुर । विकास योजनामा चरम लापरवाही देखाउने निर्माण व्यवसायीहरूविरुद्ध बेलडाँडी गाउँपालिकाले कडा निर्णय लिएको छ । पालिकाले एक निर्माण कम्पनीको ठेक्का खारेज गरेको छ भने अर्को कम्पनीलाई क्षतिपूर्ति तिर्ने गरी बाँकी काम अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

 

श्री न्यू जोशी / नेपाल आदर्श डेभलपर्स जे.भी.ले वडा नं. ३ अन्तर्गत शिवनगर पुलदेखि बैवाह चौराहासम्मको आरसीसी सडक निर्माणको ठेक्का लिएको थियो। सार्वजनिक खरिद प्रक्रिया अनुसार ३ करोड १५ लाख लागत अनुमान गरिएको योजनाको ठेक्का २ करोड १० लाखमा सम्झौता गरिएको थियो ।

 

तर, कम्पनीले सम्झौता शर्त उल्लंघन गर्दै पटक–पटक ताकेता गर्दा समेत काममा प्रगति नदेखाएपछि गाउँपालिकाले २०८२ असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) अनुसार ठेक्का खारेज गरेको हो ।

 

कम्पनीको लापरवाहीका कारण योजना अलपत्र बनेको मात्र होइन, ७८ लाख रुपैयाँ फ्रिज हुन पुगेको छ । पालिकाले यो व्यवहारलाई जनहितमाथिको खिल्ली उडाउने कार्य भन्दै शून्य सहनशीलता देखाएको हो ।

 

यसैगरी, श्री गणेश निर्माण सेवा, बेलौरी–४ ले बेलडाँडीको वडा नं. २ र ५ का वडा कार्यालय भवन निर्माणको जिम्मा लिएको थियो । तर तोकिएको समय २०८२ असार २० भित्र काम नसकिएको भन्दै पालिकाले २०८२ असार २५ को निर्णयअनुसार सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो । यस योजनामा पनि कम्पनीको लापरवाहीले गर्दा ३२ लाख ३२ हजार रुपैयाँ बजेट फ्रिज भएको छ ।

पालिका स्रोतका अनुसार दुबै कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि गम्भीरता नदेखिएको, कार्य सम्पादन नगर्ने प्रवृत्तिले विकास योजना अवरुद्ध भएको र जनताको अमूल्य करको पैसा जोखिममा परेको उल्लेख गरिएको छ । “ठेक्का लिने तर काम नगर्ने’ प्रवृत्तिलाई सहेर बस्ने समय होइन, बेलडाँडीबासीको अपेक्षाअनुसार योजना कार्यान्वयनमा शून्य सहनशीलता अपनाएको जनाइएको छ ।”

बेलडाँडी गाउँपालिकाको यस्ता ठेकेदारमाथिको कडा कारबाही विकासमा गम्भीरता नदेखाउनेहरूका लागि चेतावनी र अन्य पालिकाहरूका लागि अनुकरणीय अभ्यास बन्ने स्थानीयवासीहरूको भनाइ छ ।

जनताको करबाट सञ्चालित पूर्वाधार योजनाहरू समयमै सम्पन्न गराउन पालिकाले लिएको यो अडान सराहनीय छ ।

प्रतिक्रिया दिनुस