धनसिह धामी
कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । सुदूरमा नियमित बर्षासंगै भारतले धौलीगंगाकोे बाँध खोलिदिएपछि महाकालीमा पानीको सतह बृद्धि भईरहेको छ । मंगलबार बिहानको तुलनामा अहिले क्रमिक रुपमा बृद्धि भईरहेकोे प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बिहान ७ बजेतिर १लाख, २ हजार ७४२क्युसेक पानी रहेको थियो । चार घण्टापछि बिहान ११ बजेतिर १ लाख, ७ हजार ९४४क्युसेक पुगेको छ । प्रवक्ता बोहराका अनुसार महाकाली नदीमा पानीको सतह बृद्धि हुन थालेपछि बनबासा पुलमा समेत ठुला चार पाङग्रे सवारी साधन सचालनमा रोक लगाईएको छ ।
तर, दुई पाङग्रे र पैदल यात्रुलाई आउन जान दिईरहेको छ । सन १९२८मा निर्माण भएको शारदा ब्यारेज सुरक्षाका कारण एक लाख बढी क्युसेक पानी पुगेपछि ठुला सवारी साधन संचालनमा रोक लगाउँदै आएको छ । भारतले महाकाली नदीमा धौलीगंगाकोे बाँध खोलिदिएपछि पानीकोे सतह बृद्धि हुन लागेकोे जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार एक सार्वजनिक सुचना जारी गर्दै २० साउन ०८२ बिहान ६ बजेदेखि २१ साउन बिहान ६ बजेसम्म भारतको एनएचपीसी धौलीगंगा पावर स्टेनशनले धारर्चुला पिथौरागढले सिल्ड सफाई गर्ने हुँदा महाकाली नदीको सतह बृद्धि हुने भएकाले तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आब्हान गरेको थियो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले धौलीगंगाको बाँध खोलिएकाले जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आब्हान गरेका छन । ०७० सालमा पनि दार्चुलामा भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नदिई बाँध खोलिदिएपछि दार्चुलादेखि कञ्चनपुरसम्मै महाकाली नदी गाँउ पसेर मानविय, भौतिक क्षति बेहोर्नु परेको थियो ।
भारतीय पक्षले दार्चुला स्थित धौलीगंगा मात्रै होईन, कञ्चनपुर स्थित बनबासा पुलमा समेत हिउँदमा सिङ्गो महाकाली आफुतिर थुनेर लग्ने अनि बर्षातले नेपाल तर्फका सबै ढोका खोलिदिने भएपछि नेपाल तर्फ विपद निम्तिने गरेको स्थानीयको दुखेसो छ ।