कञ्चनपुर । नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले संविधान दिवसका दिन दिएको आफ्ना भनाइलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।असोज ३ गते गोठलापानीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले झण्डै आधा घण्टा आफ्नो विचार राखेका थिए । तर, त्यसको आधा मिनेट मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि आफू पीडित भएको उनको भनाइ छ ।
चन्दका अनुसार कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संविधानको रक्षा र युवाको संलग्नता आवश्यकताबारे धारणा राख्दा भ्रष्टाचारको छानबिन र कारवाही अनिवार्य रहेको पनि जोड दिएका थिए । साथै, २०४७ सालयता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग उनले अघि सारेका थिए ।तर, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको जलेको नोट र त्यसबारे आएको विज्ञप्ति प्रसंगमा बोलेको केही अंशलाई तोडमोड गरी ‘गाउँ गाउँमा गएर पुष्टि गरौँ, सामाजिक सञ्जालले झुटा हो’ भन्ने खालको भ्रामक सन्देश फैलाइएको उनले स्पष्ट पारेका छन् । झण्डै आधा घण्टाको अभिव्यक्तिलाई आधा मिनेटको छोटो भिडियो बनाएर विपरीत अर्थ लाग्ने गरी प्रचार गर्नु अन्याय हो । म भ्रष्टाचारविरुद्ध अडिग छु, त्यसको पक्षपोषण गर्ने मेरो कुनै मनसाय छैन,” चन्दले भनेका छन् ।