झलारी । भोली मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेला संचालन हुन लागेको छ । शुक्लाफाँटा उद्योग वाणिज्य संघको आयोजनामा झलारी खुला मञ्चमा तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो ।

‘कला, संस्कृति, कृषि, पर्यटन र औद्यौगिक विकास ः सम्बृद्ध सुदुरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ शुक्लाफाँटा नगरपालिका १० झलारीको खुला मञ्चमा २५ कार्तिक दिउँसो २ बजेदेखि औपचारिक उद्घाटन हुनेछ । शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महराको प्रमुख आथित्यतामा मेला उद्घाटन गरिनेछ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सवको अपार सफलतापछि तेस्रो पटक मेला संचालन गर्न लागेकोे बताए । यस अघि लगातार ०७८ र ०७९ मा महोत्सव संचालन गरिएको थियो ।

स्थानीय कृषि, उद्योग, घरेलु उत्पादनहरुको प्रर्दशन, बजार विस्तार, सुदूरपश्चिमको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, मौलिक संस्कृतिको प्रर्बद्धन, महिला उद्यमी, नवप्रर्बद्धनशील विचारको विकास, निजी क्षेत्रको उन्नतीका गर्ने गराउने मेलाको उदेश्य रहेको बताए ।

महोत्सव सम्पन्न गर्नका लागि झण्डै १८देखि २० लाखको खर्च हुने र लाखौँकोे कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको पहिचान, बजारीकरण, पर्यटकीय आवागमन, स्थानीय व्यवसाय कारोबारमा बृद्धि, कला संस्कृतिको जोर्गेना, सहित लगानीकर्ता उत्साहित हुनेछन ।

शुक्लाफाँटा उद्योग वाणिज्य संघका उपाध्यक्ष एव मञ्च व्यवस्थापन उपसमितिका संयोजक बासुदेव भण्डारीले जिल्लाकै मध्य भूगोलमा संचालन हुने महोत्सव सफल पार्नका लागि सरोकारवालको अतुलनिय भूमिका हुने बताए ।

महोत्सवमा सुदूरपश्चिमको मौलिक, कला, संस्कृति प्रर्दशन सहित स्थानीय, राष्ट्रिय कलाकारबाट हरेक दिन साँस्कृतिक कार्यक्रम प्रस्तुती हुनेछन । महोत्सवबाट सुदूरको आर्थिक, साँस्कृतिक, समाजिक, पर्यटकीय, व्यवसायिक क्षेत्रमा योगदान पुग्ने दावि गरिएको छ ।

झण्डै एकसय हराहारीमा विभिन्न बस्तु तथा सेवाका स्टल हुनेछन । महोत्सव बारे सोमबार आयोजकले पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गरेकोे छ । महोत्सव अवलोकनका लागि साधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ६०रुपैया निर्धाण गरिएको छ । महोत्सव आगामी ७ मंसिरसम्मै संचालन हुनेछ । गाँउमै महोत्सव संचालन हुने भएपछि दर्शनार्थीलाई सुविधा हुनेछ ।

प्रतिक्रिया दिनुस