बैतडी ,माघ २७ ।डिलाशैनी माध्यमिक विद्यालय, मल्लादेहीको ६६ औँ वार्षिकोत्सव भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लुहारको अध्यक्षतामा आयोजित कार्यक्रममा अभिभावक, बुद्धिजीवी, पूर्वविद्यार्थी तथा स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बम रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद भण्डारी रहनु भएको थियो।

अतिथिहरूले विद्यालयले क्षेत्रमा शिक्षा विस्तार र जनशक्ति उत्पादनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिर सिंह रतोकिले आर्थिक तथा भौतिक प्रगति सम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका उपलब्धि, पूर्वाधार विकास, शैक्षिक सुधारका प्रयास तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।

उहाँले विद्यालयलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन समुदाय, अभिभावक र सरोकारवाला निकायको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।
उक्त अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी तथा सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले सामुदायिक विद्यालयको सुदृढीकरण, अनुशासन, प्रविधिमैत्री शिक्षा र नैतिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, देउडा लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा थप आकर्षण थपेका थिए। साथै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो।समुदायको सहकार्य र उत्साहपूर्ण सहभागितामा  कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुस