झलारी । ३१औँ महान जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी, निर्वाचन क्षेत्र नं. २ कञ्चनपुरले शहिद सम्मान तथा अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। जनयुद्धका स्मृतिमा आयोजित कार्यक्रममार्फत यस क्षेत्रका ९६ शहिद परिवार जनलाई दोसल्ला सहित शहिदहरूप्रति सम्मान व्यक्त गरिएको छ।

 

कार्यक्रममा शहिद राजेश भट्ट, तीर्थराज चौधरी, रामप्रसाद चौधरी, कुलबहादुर चौधरीलगायतका ९६ परिवारजन सहभागी थिए। जनयुद्धको क्रममा जीवन आहुति दिने शहिदहरूलाई सम्झना गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा रहेका परिवारहरूलाई एकै स्थानमा भेला गराएर सम्मान गरिएको आयोजकले बताएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनष्ट पार्टीका वरिष्ठ नेता तथा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले शहिदहरूको बलिदान राष्ट्रका अमूल्य उपलब्धिहरूको आधार रहेको बताउँदै शहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। उहाँले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनलाई “देशको भविष्य र उपलब्धिहरूको रक्षा गर्ने अर्को निर्णायक युद्ध” का रूपमा व्याख्या गर्दै पार्टी र यसको चुनाव चिन्हमा मतदान गर्न उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई आग्रह गर्नुभयो।

 

नेता भट्टले निर्वाचन क्षेत्र नं. २ का युवा उम्मेदवार माधव पन्त क्षेत्रका समस्या, आवश्यकता र जनभावनालाई निकटबाट चिनेका सक्षम नेता भएको बताउँदै “सांसदमा पठाउनुपर्ने पात्र यही हुन्” भन्ने मनोभाव व्यक्त गर्नुभयो।

 

कार्यक्रममा बोल्दै उम्मेदवार माधव पन्तले शहिदहरूको बलिदानलाई सम्मानपूर्वक जोगाउँदै जनताप्रति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले चुनावी वातावरण दिनप्रतिदिन सकारात्मक बन्दै गएको उल्लेख गर्दै “जनताको विश्वासले जित सुनिश्चित भएको अनुभूति भएको” बताउनुभयो। पन्तले कार्यकर्ताहरूलाई उत्साहपूर्वक निर्वाचन अभियानमा सक्रिय हुन अनुरोध गर्दै क्षेत्रका समस्या समाधानमा आफू विश्वस्त रहेको बताए।

 

सो कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ प्रचारप्रसार मूल समितिका संयोजक देवीलाल चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा सांसद निराशा चौधरी, नेता लालबहादुर खड्का, वीरबहादुर बुढाथोकी, गणेश बिकलगायतका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले शहिदहरूको आदर्शले मार्ग देखाइरहेको र उपलब्धिहरूको रक्षा गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न पार्टी तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।

 

सहिद परिवार समाजका अगुवा तथा वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीले शहिदहरूले देखाएको बाटो पछ्याउँदै प्राप्त उपलब्धि जोगाउन आग्रह गर्नुभयो। उहाँले सहिदहरूको बलिदानीले देशले पाएको परिवर्तनप्रति गर्व व्यक्त गर्दै जनप्रतिनिधिले जनताप्रति उत्तरदायित्वसहित काम गर्नुपर्ने धारणा राख्नुभयो।

 

कार्यक्रममा प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य ओम विक्रम भाटले जनयुद्धका शहिदहरू राष्ट्रिय गौरवका प्रतीक रहेको बताउँदै सबैले उहाँहरूप्रति सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो। नेता लालबहादुर खड्काले स्थानीय समस्याहरू समाधान गर्न सक्षम नेता माधव पन्तलाई आफ्नो प्रतिनिधि बनाउन जनसमुदायलाई अपिल गरे।

 

कार्यक्रमको स्वागत मन्तव्य महेश दत्त जोशीले प्रस्तुत गरेका थिए भने सञ्चालन निर्वाचन मूल परिचालन समितिका सह–संयोजक खेमराज पाण्डेले गर्नुभएको थियो। पार्टीले शहित परिवारलाई सम्मान गर्दै शहिदहरुको नाममा सपथ लिदै चुनावमा होमीएको बताएका छन् । ३१ औं जनयुद्ध दिवस तथा शहिद सप्ताह कार्यक्रम विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

प्रतिक्रिया दिनुस