
धनगढी । बैतडीमा नेकपा एमालेबाट उम्मेदवार रहेका दामोदर भण्डारीले रास्वपा समानुपातिक उम्मेदवारलाई अश्लील गाली गरेको आरोप लागेको छ। रास्वपाका समानुपातिक उम्मेदवार हरिशप्रसाद भट्टले भण्डारीले आफूलाई अश्लील गाली गरेको बताएका छन्।
भट्टले सार्वजनिक गरेको भिडियो सन्देशमा एमाले उम्मेदवार भण्डारीले भट्टलाई शुक्रवार गालीगलौज गरेका हुन्। जिल्ला सदरमुकाम बैतडी गइरहेका भट्टलाई भण्डारीले पाटन बैतडी सडकखण्डको कठपतेमा गाली गरेको भिडियो सन्देशमा उल्लेख छ।
भट्टले भनेका छन्, ‘हामी बैतडी गइरहेका बेला सदरमुकामबाट फर्किरहेका भण्डारीको टोलीसँग कठपतेमा भेट भयो। शुक्रवार बिहान साढे ११ बजे भएको भेटमा मैले नमस्कार गर्दा भण्डारी जीले अश्लील गाली गर्नु भयो।’
भिडियोमा रास्वपा समानुपपातिक उम्मेदवार भट्टले आफूले एमाले नेता लिलाधर भट्ट, दशरथचन्द नगरापालिकाका मेयर पुष्करराज जोशी र दामोदर भण्डारीलाई भेटेको बताएका छन्। उक्त भेटमा एक जना साथीले कता गइरहेको भनेर प्रश्न गर्दा जिल्ला प्रशासन भनेर जवाफ दिँदा भण्डारीले ‘तँ किन प्रशासन जानु पर्यो? तेरो दाँतसात झारी दिन्छु’ भन्दै ‘सिङ्गल सिङ्गल भिड्न आइजा’ भनेको दाबी गरेका छन्। भट्टले किन रिसाउनुहन्छ भन्दै नमस्कार गर्दा भण्डारीले ‘हात तल गर भन्दै राणीका छोराहरू… को होस् तँ मसँग सिङ्गल-सिङ्गल भिड्छस् ‘ भन्दै अश्लील गाली गरेको दाबी गरेका छन्। उनले उम्मेदवार भण्डारीले आफूमाथि गरेको दुर्व्यवहार बारे बैतडीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई बताएको जानकारी दिएका छन्।
यता एमाले उम्मेदवार भण्डारीले भने भट्टले लगाएको आरोपमा सत्यता नभएको बताए। उनले डिलाशैनीमा भएको घटना मिलाउनु पर्यो भनेर भट्टले भनेको तर कानुनअनुसार नै मुद्दा अगाडि बढ्ने आफूले बताएको दाबी गरे। भण्डारीले गाली गरिएको कुरा निराधार रहेको बताए।
बुधवार बैतडीको डिलासैनीमा एमाले र रास्वपाका कार्यकर्ताहरूबीच झडप भएको थियो। उक्त झडपमा एमालेका दुई र रास्वपाका एक कार्यकर्ता घाइते भएका थिए। प्रहरीले घटनामा संलग्न भएको भन्दै पाँच जना रास्वपा समर्थकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ। सोही दिनदेखि बैतडीमा एमाले र रास्वपाबीच तिक्तता बढेको अनुमान गरिएको छ।
बैतडीमा एमालेबाट २०७०, २०७४ र २०७९ मा जित निकालेका दामोदर भण्डारी उम्मेदवार छन् भने रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन्। पाटन नगरपालिका-६ एउटै गाउँमा घर भएका र नाताले हरिमोहन दाजु र दामोदर भाइ हुन्। दिनेश खबरबाट साभार

