कञ्चनपुर, वि.सं. २०४५ सालदेखि मानवअधिकार संरक्षण र स्वच्छ निर्वाचनको पक्षमा निरन्तर सक्रिय रहँदै आएको नेपाल मानव अधिकार संगठन ले यसपटकको निर्वाचन देशव्यापी रूपमा स्वतन्त्र र निष्पक्ष ढंगले पर्यवेक्षण गर्ने घोषणा गरेको छ। संगठनले देशभरका सबै जिल्लामा प्रशिक्षित तथा अनुभवी पर्यवेक्षकहरू परिचालन गर्दै मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको सम्पूर्ण प्रक्रियालाई नजिकबाट अनुगमन गर्ने जनाएको छ।

निर्वाचन आचारसंहिताको पालना, सुरक्षा व्यवस्थाको प्रभावकारिता, मतदाताको स्वतन्त्र वातावरण र सम्पूर्ण प्रक्रियाको पारदर्शिता—यी विषयलाई विशेष प्राथमिकतामा राखिने स्पष्ट गरिएको छ। लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको दबाब, प्रभाव वा अनियमितता स्वीकार्य नहुने संगठनको धारणा छ। आवश्यक परे सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउने र सार्वजनिक प्रतिवेदन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यसैबीच नेपाल मानवअधिकार संगठन कंचनपुर शाखा का अध्यक्ष तथा मानवअधिकारकर्मी सुरेन्द्र देउवा ले कञ्चनपुर जिल्लाका ९ वटै पालिकामा चुनावी पर्यवेक्षक खटाइएको जानकारी गराएका छन्। उहाँका अनुसार भयरहित र निष्पक्ष मतदान सुनिश्चित गर्न प्रभावकारी अनुगमन गरिनेछ।

“जनताले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गरी योग्य जनप्रतिनिधि चयन गर्ने वातावरण निर्माण गर्नु हाम्रो दायित्व हो,” अध्यक्ष देउवाको भनाइ छ।

स्वच्छ निर्वाचनमार्फत लोकतन्त्र सुदृढीकरण र मानवअधिकार संरक्षणमा ठोस योगदान पुर्‍याउने उद्देश्यसहित संगठन देशव्यापी रूपमा सक्रिय रहेको छ।

प्रतिक्रिया दिनुस