लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा इन्धन शीर्षकमा मात्रै रु. ३६ लाख ७२ हजार ६ सय ४० खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले अभिलेख व्यवस्थापन र खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ ।

प्रतिवेदन अनुसार पालिकाले इन्धन (पदाधिकारी) शीर्षकमा रु. १२ लाख ६६ हजार १८ तथा इन्धन–अन्य प्रयोजनमा रु. २४ लाख ६ हजार ६ सय २२ खर्च गरेको देखिएको छ । यसरी एकै आर्थिक वर्षमा कुल रु. ३६ लाख ७२ हजार ६ सय ४० इन्धन खर्च भएको छ ।

अर्थ मन्त्रालयद्वारा जारी कार्य सञ्चालन निर्देशिका, २०८१ ले प्रति कर्मचारी मासिक अधिकतम १२ लिटरसम्म इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । तर गाउँपालिकाले खर्च गरेको इन्धन पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माण कार्यमा कति र कसरी प्रयोग भएको हो स्पष्ट विवरण खुल्ने अद्यावधिक अभिलेख नराखेको महालेखाले उल्लेख गरेको छ ।

प्रतिवेदनमा इन्धन उपयोग गर्ने व्यक्ति, सवारी साधन तथा प्रयोजन खुल्ने गरी सार्वजनिक सम्पती व्यवस्थापन प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको औंल्याइएको छ ।

महालेखा परीक्षकले गाउँपालिकालाई इन्धन खर्चको अभिलेख व्यवस्थित गर्न, प्रयोगकर्ता र सवारी साधनको विवरण स्पष्ट राख्न तथा यस्ता खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएको छ ।

स्थानीय तहको बढ्दो प्रशासनिक खर्चप्रति सरोकारवालाले चासो व्यक्त गरिरहेका बेला महालेखाको यो टिप्पणीले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग र जवाफदेहिताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

प्रतिक्रिया दिनुस