
धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ। महासंघका पदाधिकारी, जिल्ला शाखाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागितामा सम्पन्न साधारण सभाले पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गरेको छ।
प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नजिर मियाँ तथा विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नित पण्डित, महासंघ लुम्बिनी प्रदेश अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नजिर मियाँले आफूले सुदूरपश्चिमलाई “सुदूर र विकट भूभाग” का रूपमा कल्पना गरेको भए पनि यहाँ आएपछि यस क्षेत्रको प्राकृतिक सम्पदा, जल, जंगल र जमिनको अनुपम सौन्दर्यले प्रभावित भएको बताए। उनले सुदूरपश्चिमलाई “सुदूर होइन, सुन्दर पश्चिम” भन्दै यहाँको सम्भावना र समृद्धिको खुलेर प्रशंसा गरे।
विशिष्ट अतिथिहरूले बदलिँदो सञ्चार परिवेशमा पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन सकारात्मक सोच, क्षमता अभिवृद्धि तथा पेशागत हकहितको संरक्षण आवश्यक रहेकोमा जोड दिए। उनीहरूले महासंघलाई अझ सक्रिय, प्रभावकारी र पत्रकारमैत्री बनाउँदै लैजानुपर्ने धारणा राखे।
साधारण सभामा वक्ताहरूले निजी सञ्चारमाध्यमलाई राज्यले विज्ञापन वितरणमा लगाएका विभिन्न प्रतिबन्ध तथा विभेदकारी नीतिप्रति असन्तुष्टि जनाउँदै यस्ता व्यवस्थाले स्वतन्त्र पत्रकारिता र निजी मिडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गरेको बताएका थिए। पत्रकारिता क्षेत्रको दिगोपनाका लागि राज्यले निजी सञ्चार क्षेत्रप्रति सकारात्मक र सहकार्यात्मक नीति अवलम्बन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रममा प्रदेश समितिले आफ्नो वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनासमेत प्रस्तुत गरेको थियो। सहभागी पत्रकारहरूले संगठनलाई थप प्रभावकारी, उत्तरदायी र पत्रकारमैत्री बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए।
यस अवसरमा कञ्चनपुरका अग्रज पत्रकार चित्राङ थापा, खेम भण्डारी, हरि प्रशाद जाेशि, माधव धामी, डिआर पन्त, वीर ब चन्द सहित सुदूरपश्चिम प्रदेशका पत्रकारिता क्षेत्रका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएका अग्रज पत्रकारहरूलाई सम्मानसमेत गरिएको थियो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सम्पन्न पाँचौँ साधारण सभा पत्रकारिताको पेशागत अधिकार, संगठनको सुदृढीकरण र सञ्चार क्षेत्रका साझा मुद्दामाथि केन्द्रित रहँदै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

