
हेमा भट्टीनी
धनगढी । भूमिसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने संघीय सरकारको नीतिअनुसार धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।
सो तयारीस्वरूप उपमहानगरले आफ्ना कर्मचारीलाई पाँचदिने विशेष तालिम सञ्चालन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको समन्वयमा असार २६ देखि ३० गतेसम्म सञ्चालन हुने स्थानीय तहमा सेवा हस्तान्तरण सम्बन्धी तालिम मार्फत कर्मचारीलाई भूमि प्रशासनसँग सम्बन्धित प्राविधिक तथा व्यवस्थापकीय विषयमा दक्ष बनाइनेछ।
तालिममा रजिष्ट्रेशन, जग्गा दर्ता, जग्गा प्रशासन, LRIMS, PAMS, NELIS, मेरोकित्ता लगायतका आधुनिक डिजिटल प्रणालीबारे व्यावहारिक प्रशिक्षण दिइने धनगढी उपमहानगरपालिकाले जनाएको छ। तालिमको उद्घाटन असार २६ गते शुक्रबार बिहान ९:३० बजे धनगढी उपमहानगरपालिकाको सभाहलमा हुने प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी निमन्त्रणापत्रमा उल्लेख छ।
कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित भई समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ। उपमहानगरपालिकाका अनुसार आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था पूरा भइसकेकाले साउन १ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै नियमित रूपमा सञ्चालन हुनेछ। यससँगै सेवाग्राहीले जग्गा प्रशासनसम्बन्धी धेरै सेवा आफ्नै स्थानीय तहबाट सहज, छिटो र प्रभावकारी रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यो कदमले सेवा प्रवाहलाई नागरिकमैत्री, डिजिटल र थप पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।

