नवलपरासी, माघ २९, नवलपरासीमा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना सकुसल रहेको र बाँकी ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ बर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ बर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० बर्षीय पूर्णबहादुर थापा, २५ बर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो ।
दुर्घटनामा परी ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर रहेको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ ।
त्यसैगरी ४० बर्षीय छालबहादुर सारु मगर, २९ बर्षीय विमलराज सुस्लिङ्ग मगर, ११ बर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको छ ।
लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइतेहरुको पुराना मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
मृतक दुई जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुलिङ्गटारमा रहेको छ भने दुई जनाको शव पुरानो मेडिकल कलेज चितवनमा रहेको छ ।ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस