काठमाडौं चैत्र २०। नेपालमा पनि छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए ।यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।