विकास सिह महता ,
कञ्चनपुर, बैशाख १९ । कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत दुवै देशविच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको छ । दुईतिर भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाई पारिएको हो । तर, भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेर कञ्चनपुरको महाकाली नगरपालिका घेराउ गरिएको छ ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीलाई घर ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेका हुन् । चुनावका बेला भारतमा रहेका आफन्तलाई जसरी भोट दिलाउ मगाउनुभयो, अहिले संकट पर्दा पनि त्यसै गरि ल्याउनुपर्ने व्यवस्थाको माग अघि सारेर आन्दोलनमै उत्रेका हुन् । लकडाउन नै उलङघन गरेर सयौँको संख्यामा नगरपालिका पुगेका स्थानीयले चुनावका बेला भारत लगायत विदेशमा रहेका आफ्ना मान्छेलाई बोलाउन करकाम गर्ने गरेको, तर अहिले संकट पर्दा जनप्रतिनिधीले ल्याउन पहल समेत नगरेको उनीहरुको आरोपछ । नेकपाका युवा नेता एव महाकाली नगरका स्थानीय भरत भट्टले लकडाउनका कारण भारतमा अडकिएका आफन्तलाई स्वदेश फिर्ताको माग राखेर स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेको बताए ।

उनका अनुसार भारतमा रहेका नेपालीलाई खाद्यान्न बस्नको समस्या भएकाले यथाघिश्र नेपाल फर्काउनु पर्ने माग अघि सारेका छन् । उनीहरुले भारतबाट ल्याएर नेपालमा क्वारेन्टाईनमा बस्न तयार भएको बताएका छन् । चीनमा पनि कोरोना संक्रमण हुँदा सरकारले आफ्ना नागरिकलाई उद्दार गरेर ल्याएको भन्दै भारतमा रहेका नेपालीलाई किन नल्याउने भन्दै प्रशन गरिरहेका छन् । महाकाली नगरपालिका प्रमुख बीर बहादुर सुनारले कामका लागि भारतमा रहेका नेपालीका आफन्तले स्वदेश फिर्ता ल्याउनुपर्ने माग अघि सारेर कार्यालयमा आएको बताए । नगर प्रमुख सुनारका अनुसार भारतमा रहेका आफन्तले राखेको माग नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय समेत गरेर स्थानीय प्रशासन, प्रदेश र संघीय सरकारलाई पत्राचार गरेको बताए ।‘जनताले हामीसंग राखेको माग सिधै हामीले निर्णय नै गरेर प्रदेश र संघीय सरकारमा बुझाएका छौँ, ‘नगर प्रमुख सुनारले भने, ‘यो विषय हाम्रो तहबाट हुँदैन् ।’

शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूर खतिवडा सहितको टोलीसंग पनि स्थानीयले यथाघिश्र भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेका थिए । नगर प्रमुख सुनारका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पनि यो दुवै देशको विषय भएकाले भारतमा रहेका नेपाली फिर्ता ल्याउने विषयमा पहल थालिने बताएका थिए । पुनर्वास नगरका स्थानीयले समेत भारतबाट नेपाल आउने नेपालीलाई सीमा क्षेत्रबाट फकाईएको भन्दै उनीहरुलाई पनि नेपाल ल्याएर क्वारेन्टाईनमा राख्नुपर्ने माग अघि सारेका थिए ।

पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले स्थानीयबाट भारतमा रहेका नेपाली फिर्ताको माग गरिएको बताए ।स्थानीयले भारतमा रहेका आफ्न्त संकटमा रहेकाले उनीहरुको उद्दार गर्नमा सहयोग नगरे आन्दोलनको चेतावनी दिएका छन् । भारतबाट गत १८ चैत्रमा नेपाल फर्किन लागेका २ सय ३ जनालाई भारतको बनबासा, टनकपुरका क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई पनि फिर्ता ल्याउनुपर्ने माग अघि सारेका छन् । तर, स्थानीय प्रशासनले भने गृहको आदेश कुरिरहेको जनाउदै आएको छ । भारतका विभिन्न स्थानमा रहेका नेपालीले खाद्य संकट भएको भन्दै खाद्यान्नको समेत माग गर्दै आएका छन् ।

उनीहरुले खाद्यान्नको माग अघि सारेका छन् । बैतडीका दोगडाकेदार गाउँपालिका ७चटेपानीका भानदेव भट्टले भारतको नयाँ दिल्ली स्थित आजातपुर पटेल नगरमा रहेका एकै वडाका ६०जना अलपत्र परेको बताए । उनका अनुसार विभिन्न होटेल लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै अपीसाईपाल नेपाली एकता समाज भारत दिल्ली सुवाशनगरका अध्यक्ष बासुदेव जोशी९बादल०ले भारतका रहेका नेपालीको विजोग भएको बताए । उनले भारतमा रहेका नेपालीको विषयमा सरकारले वेवास्ता गरेको दुखेसो पोखे । भारतमा रहेका नेपाली भोकभोकै र केही क्वारेन्टाईनमा अडकिएको बताए । अध्यक्ष जोशीले आफ्ना नागरिकप्रति सरकारले ध्यान नदिएको दुखेसो पोखे । उनीहरुले कमाई सकिएको भन्दै सरकारले खाने बस्ने र घर फिर्ताको माग अघि सारेका छन् ।भारतभर अझै लाखौँ नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुस