कञ्चनपुर साउन २ । नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले साउन ६ गते सुदूरपश्चिम प्रदेशमा बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए।

ब्यूरोले बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमा आफ्ना नेताकार्यकर्तालाई झुटा मुद्धा बनाएर हिरासतमा लिइएको घटनाप्रति भत्र्सना गरिएको छ। विप्लव पार्टीले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ। जसअनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने छ।

बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुस