कैलाली भाद्र, ९ । सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट अवैध काठ बरामद भएको छ। प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति समेत रहेकी उनका स्वकीय सचिव शर्मानन्द जोशीको घरबाट अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशीको घरबाट ५ गोलिया सालको काठ, चिरान गरिएका ४ थान कडी र ३० गोलिया दाउरा जस्तै काठ बरामद भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले जानकारी दिए। ‘हाम्रा कर्मचारीले हिजो(सोमबार) काठ बरामद गरेका थिए, त्यसैको अनुसन्धानका लागि आज म आलिताल आएको छु’ उनले भने, ‘जोशीको घरबाट बरामद गरिएको काठ नियन्त्रणमा लिएका छांै। अहिले उहाँलाई कागज काम गरी छाडेका छौ, थप अनुसन्धान भइरहेको छ।’

केहि दिनअघि मात्रै आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथमासडक निर्माणका क्रममा कोटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको थियो। र, बाँकी लुकाएर राखिएको काठको खोजी भइरहेको समेत डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको थियो।

चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको विषयमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आइतबार स्थलगत अध्ययन गरेको थियो। स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको थियो।

स्थलगत अध्ययनपछि प्रदेश सभा सदस्य दिर्घराज सोडारीले सडक निर्माणका नाममा सालका रुखहरु काटी गोलिया बनाएर धनगढीतिर तस्करी भइसकेको र धनगढी तस्करी हुन नसकेको काठ माज्ञै वन कार्यालयले बरामद गरेको बताएका थिए।

त्यसको दोस्रो दिनमै सांसद कुन्ति जोशीका स्वकिय सचिव शर्मानन्दको घरबाट काठ बरामद भएका छन्। शर्मानन्द सांसद जोशीका सहोदर भाई हुन्। स्थानीयका अनुसार स्वकिय सचिवको घर भन्नु र सांसद जोशीको घर भन्नु एउटै हो। उनको घरका फेला परेको काठ सडक निर्माण गर्दा काटिएका रुख नै भएको स्थानीय स्रोतले बताएको छ।

तर डिभिजन वन कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले सडक निमार्णका क्रमका काटिएको काठ नै बरामद भएको भनेर अहिले भन्न मिल्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुस