बझाङ, १८, कार्तिक-बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन।
स्थानीयहरूले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा तालाबन्दी गरेका छन्। उनीहरूले सुनकुडा माविको विद्यालय व्यवस्थापन समिति पुरानै अध्यक्ष रमेश अधिकारीले एकलौटी ढङ्गबाट पुनः आफै अध्यक्ष रहने गरी गठन गरिएको समिति खारेज गर्नुपर्ने, आम भेलाबाट नयाँ समिति गठन हुनुपर्ने, शिक्षक भर्ना प्रक्रियामा अध्यक्षको भूमिका नहुनु पर्ने र एकलौटी ढङ्गबाट गठन गरिएका समितिलाई कामकारबाहीको अधिकार नदिनु पर्ने माग अघि सारेका छन्।
सुनकुडा माध्यमिक विद्यालयमा पुरानै अध्यक्ष रमेश अधिकारीले एकलौटी ढङ्गबाट आफै पुनः अध्यक्ष रहने गरी समिति गठन गरेका थिए । एकलौटी ढङ्गबाट व्यवस्थापन समिति गठन गरिएकोभन्दै स्थानीय शेर सिंह कामीले जिल्ला अदालत बझाङमा रिट दायर गरेका थिए । उक्त मुद्दा अहिले उच्च अदालत दिपायलमा विचाराधीन छ । व्यवस्थापन समिति अध्यक्ष अधिकारीले अदालतमा मुद्दा चलिरहेकै बेला नातेदारलाई शिक्षक भर्ना गर्न नियम विपरीत हतार हतार शिक्षक दर्खास्त आव्हान गरेको स्थानीयको आरोप छ ।
विद्यालयले आज मंगलबारनै शिक्षक छनौटको लागी परीक्षा तोकेको छ । अदालतमा विचाराधीन मुद्दाको फैसला नहुँदै विद्यालयमा मावि तहको अङ्ग्रेजी शिक्षक नियुक्ति गर्न लागेको भन्दै तालाबन्दी गरेको स्थानीय हर्क ढाँटले बताए ।
यता गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया र शिक्षक भर्नाको सम्बन्धमा आफूहरूको कुनै भूमिका नरहेको बताए । उनले पालिकामा उजुरी आएको र उक्त उजुरीको विषयमा दुई पक्ष बिच छलफल गराउने प्रयास गर्दा समेत सफल नभएको र अहिले एक्कासि आएर तालाबन्दी गरेको बताए । सोमबार मात्रै उच्च अदालत दिपायलको शेषराज शिवाकोटी इजलासले उक्त मुद्दामा लिखित जवाफ माग गरेको छ।