पार्टीभित्र विवाद बल्झिएको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार भेटवार्ता भएको छ । लामो अन्तरालपछि गत शनिवार भएको भेटवार्ता सकारात्मक हुन सकेको थिएन । ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रचण्ड लगायत नेताहरूले पार्टीमा उत्पन्न समस्याको समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री ओलीले भने २ अध्यक्षबीच सहमति भएपछि मात्र सचिवालय बैठक बोलाउने तयारीमा रहेको नेकपा स्रोतले बतायो । गत शनिवारको भेटमा ओलीले ‘सहमतिमा नआउने हो भने अलग–अलग हिडौं’ भनेर प्रस्ताव गरेको प्रचण्डले आफूनिकटका नेताहरूलाई बताएका थिए ।

आफूसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफरिश तथा कर्णाली प्रदेशमा उत्पन्न विवादलाई लिएर प्रचण्ड असन्तुष्ट देखिएका थिए । आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग–अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले बुधवार एक कार्यक्रममा कुनै हालतमा राजीनामा नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुस