कञ्चनपुर –प्रहरीमा भर्ती हुन जन्ममिति घटाएर दोहोरो नागरिकता लिन खोजेको आरोपमा कञ्चनपुरमा एक जना युवक पक्राउ परेका छन्। नाम र जन्ममिति परिवर्तन गरेर दोहोरो नागरिकता लिन खोजेका महाकाली नगरपालिका –७ का गोविन्द सुनारलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार पक्राउ गरेको हो।

सुनारले यसअघि २०७२ सालमा २०५४ फागुन २० गतेको जन्ममिति राखेर गोविन्द सुनारको नामबाट नागरिकता लिएका थिए। प्रहरीमा भर्ती हुन शुक्रबार दोस्रो पटक नागरिकता लिन प्रशासन पुगेका उनले जन्ममिति २०५८ साल माघ २ गते राखेर गोविन्द सुनारको नामबाट दोहोरो नागरिकता लिन खोजेको भेटिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

उनका अनुसार सुनारले नागरिकताका लागि ल्याएको सिफारिस र पुरानो अभिलेखमा समेत बुवाको नाम वीरबहादुर सुनार र आमाको नाम होमावती सुनार रहेको छ। नागरिकता दिनका लागि सुनारको डाटा कम्प्युटरमा राख्दा दोहोरो देखिएको र सोधपुछ गर्दा ढाँटेको शङ्का लागेपछि पुरानो अभिलेखमा हेर्दा दोहोरो देखिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए।

सुनारले प्रहरीमा भर्ना हुनका लागि उमेर घटाएर दोहोरो नागरिकता लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। सुनारले कम्प्युटरमा डाटा इन्ट्री गर्दा दोहोरो देखाएपछि अभिलेखमा भिडाउँदा समेत शुक्रबार पेस गरेको फोटो पुरानो ढड्डामा रहेको फोटो रहेको भेटिएकाले, जसले गर्दा उनलाई नियन्त्रणमा लिन सजिलो भएको प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

शुक्रबार पक्राउ परेको सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ। उनीमाथि आवश्यक कारबाही हुने प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुस