काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए। उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

कानुनमा डिग्री हासिल गरेका उनले जनताको न्यायसम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन् । लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपातस् रहँदै आएका छन् । बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे । उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ ।

चीनसँगको बिग्रिएको सम्बन्ध सुधारमा उनको जोड रहेको छ । ७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनले उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौं सबैभन्दा कम उमेरका सिनेटरका रूपमा निर्वाचित भएका थिए ।

यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए । त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे ।

तर, ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिका रूपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए । २०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुस