सोमबार सुदूरपश्चिममा थप १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा प्रदेशका ६ वटा प्रयोगशालामा ९ सय २० जनाको कोरोना परीक्षण गरीएकोमा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरीएको परीक्षणमा थप १ सय २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४१ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो। डोटी प्रयोगशालामा १ सय ९८ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। त्यसैगरी जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १ सय ९ जनाको परीक्षण गर्दा ९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
जिल्ला अस्पताल बैतडी प्रयोगशालामा २० जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ९६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ५ सय जनाले कोरोना जितेका छन् भने ४२ जनाको मृत्यु भएको छ।