गजल, धर्मानन्द भट्ट,
आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ।
कि मान्छेलाई जिउनु न मर्नु पार्दो रहेछ।
सारा संसार बदल्छुँ र जित्छुँ भन्ने मान्छे,
लड्दै थाकेर अनि आफैसँग हार्दो रहेछ।
दुनियाँ जालिम पो रहेछ बुझिदै छ अब,
नजिक बसेर खुट्टा काट्दै पछार्दो रहेछ।
यो जिन्दगीको अस्लियत के हो बुझिएन,
देखाएर सपना अनेक थरी बजार्दो रहेछ।
आफ्ना भन्नेहरुले औकात देखाए पछि,
पर्खी रहेछु अब कसले पार तार्दो रहेछ।
म त यस्ता मित्रहरूको घेरा भित्र रहेछु,
न बाँच्न दिन्छ न त सुटुक्क मार्दो रहेछ।
प्रतिक्रिया दिनुस