भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको उनले बताए।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन्। ५ दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो। नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने पनि सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए।

प्रतिक्रिया दिनुस