बैतडीको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्त सोमबार बिहानै झुलाघाट नाका पुगे। पेन्सनधारीका लागि नाका खुलेपछि गएको चैतदेखि रोकिएको पेन्सन बुझ्न उनी झुलाघाट नाका पुगेका हुन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगेका पन्त साँझ घर फर्कने योजनासहित झुलाघाट पुगेका थिए। तर साँझ ५ बजेसम्म लाइनमै बस्नु परेपछि उनलाई निकै समस्या भएको छ। पन्तजस्तै पाटनकै ८५ वर्षीय नारायण चन्द ठकुरी पनि पेन्सन बुझ्न भारतको झुलाघाट पुगेका छन्। तर उनले पनि सोमबार पेन्सन बुझ्न पाएनन्। धेरै पेन्सनधारी एकै दिन झुलाघाट पुगेपछि उनीहरूले पेन्सन बुझ्न नपाएका हुन्।

नाकाबाट सबैलाई एकै पटक पठाउँदा समस्या भएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए। एकै दिन सात सयभन्दा बढी भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट बजारमा पुगेका झुलाघाटका समाजसेवी शंकर खडायतले बताए।

५ दिनसम्म नाका खुला रहने भए पनि धेरैजसो पेन्सनधारी सोमबार नै झुलाघाट पुगिसकेका छन्। यसले गर्दा खान र बसोबासको समस्या भएको छ। पेन्सनधारीलाई बैंकले समेत पुराना झुत्रा नोट दिन थालेको झुलाघाट पुगेकाहरूले बताएका छन्। नेपालमा नचल्ने खालका पुराना नोटसमेत पेन्सनधारीलाई दिइएको स्थानीय सुरेश श्रेष्ठले बताए।

बैतडीमा १२ सयभन्दा बढी भारतीय पेन्सनधारी नेपाली नागरिक छन्। उनीहरूले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्।

प्रतिक्रिया दिनुस